चार वडाका भूमिहीनलाई लालपूर्जा वितरणको प्रक्रिया अघि बढ्यो

बारा १५ असोज

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व दिलाउने प्रक्रिया अघि बढाएको छ। यसक्रममा उपमहानगरपालिकाका चार वडाका लाभग्राहीको नामावली प्रमाणीकरण गरी थप निर्णयका लागि नगर कार्यपालिकामा पठाउने तयारी गरिएको छ। स्थानीय तह भूमि सहजीकरण समितिको बैठकले वडा नम्बर १, ४, १४ र २२ बाट सिफारिस भएर आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरण गरेको हो।

प्रमाणीकरणपछि सम्बन्धित फाइल आवश्यक निर्णयका लागि नगर कार्यपालिकामा पेश गर्ने निर्णय बैठकले गरेको छ।उपमहानगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख तथा स्थानीय तह भूमि सहजीकरण समितिका सहसंयोजक भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला तथा सम्बन्धित वडाका वडाध्यक्षलगायतको सहभागिता थियो।लाभग्राही छनोटको प्रक्रियामा सम्बन्धित वडा कार्यालयले सात दिनको सार्वजनिक सूचना जारी गरी दाबी–विरोधको अवसर दिएको थियो। त्यसपछि वडास्तरीय भूमिहीन तथा अव्यवस्थित बसोबासी व्यवस्थापन सहजीकरण समितिबाट सिफारिस भएका नामावलीलाई वडा समितिले प्रमाणित गरेको थियो। सोही आधारमा नगरस्तरीय समितिले विवरण प्रमाणीकरण गरेको हो।

अब नगर कार्यपालिकाले आवश्यक निर्णय गरेपछि सम्बन्धित फाइल भूमि समस्या समाधान आयोग, बारा कार्यालयमा पठाइनेछ। आयोगबाट आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि सम्बन्धित लाभग्राहीलाई जग्गाधनी प्रमाणपुर्जा अर्थात् लालपूर्जा वितरण गर्ने प्रक्रिया अघि बढ्नेछ।यसअघि नै जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १, २, १८ र २१ का भूमिहीन तथा अव्यवस्थित बसोबासीको नामावली नगर कार्यपालिकाबाट स्वीकृत भइसकेको छ। ती वडासम्बन्धी फाइल भूमि समस्या समाधान आयोग, बारामा पठाइसकिएको उपमहानगरपालिकाले जनाएको छ।नयाँ चार वडाको नामावलीसमेत प्रक्रियामा प्रवेश गरेसँगै जीतपुरसिमरामा लामो समयदेखि जग्गाको स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले लालपूर्जा पाउने बाटो थप सहज हुने अपेक्षा गरिएको छ।