परवानीपुर–२ को रामपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन

रञ्जन यादव /बारा १० असोज

बाराको परवानीपुर गाउँपालिका वडा नं.२ स्थित रामपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले रिबन काटेर बर्थिङ सेन्टरको औपचारिक उद्घाटन गरेका हुन्।बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै स्थानीय महिलाले स्वास्थ्य चौकीमै सुरक्षित र सहज रूपमा प्रसूति सेवा लिन सक्ने भएका छन्।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, वडा नं. २ का वडाध्यक्ष महमदनुरुल होदा अंसारी, स्वास्थ्य शाखा प्रमुख जयकृष्ण मिश्र, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडा तथा गाउँपालिकाका कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो।गाउँपालिकाका अनुसार बर्थिङ सेन्टरबाट सुत्केरी सेवा निःशुल्क उपलब्ध हुनेछ। सुत्केरी आमालाई यातायात खर्चबापत १ हजार रुपैयाँ उपलब्ध गराइनेछ।त्यस्तै, तोकिएको प्रोटोकलअनुसार स्वास्थ्य संस्थामा चार पटक गर्भजाँच गराई सोही बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई थप ८ सय रुपैयाँ उपलब्ध गराइने व्यवस्था गरिएको छ।

सुत्केरी आमालाई स्वास्थ्य संस्थासम्म ल्याउन तथा घरसम्म लैजान एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुने प्रत्येक आमालाई आमा तथा नवजात शिशुका लागि आवश्यक कपडा समेटिएको एक थान न्यानो झोला समेत निःशुल्क वितरण गरिनेछ।बर्थिङ सेन्टर सञ्चालनले परवानीपुर गाउँपालिका वडा नं.२ सहित आसपासका क्षेत्रका गर्भवती महिलालाई स्थानीय तहमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गाउँपालिका अध्यक्ष क्षेत्रीले ब्यक्त गर्नुभयो ।