ट्रकको ठक्करबाट पथलैयामा स्कुटर चालकको मृत्यु

रञ्जन यादब / बारा

पथलैया–हेटौंडा सडकखण्डअन्तर्गत बाराको तीन नम्बर पुल नजिक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

शुक्रबार राति हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र. ०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको ना.६ ख ३६४४ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट स्कुटर चालक मोरङ लेटाङ नगरपालिका–१ का ३५ वर्षीय योगेन्द्रबहादुर मगर गम्भीर घाइते भएका थिए।

घाइते मगरलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

दुर्घटनापछि प्रहरीले ट्रक र चालक जीतपुरसिमरा उपमहानगरपालिका–२१ का ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ। चालक खड्कालाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।