शिलान्यासको चार वर्ष बित्दा पनि बनेन जैतापुर–रामनगर पुल, वर्षामा स्थानीयलाई सास्ती

रञ्जन यादब /बारा २७ साउन

जितपुरसिमरा उपमहानगरपालिका–१७ स्थित जैतापुर र रामनगर जोड्ने पसाहा खोलाको पक्की पुल निर्माण योजना शिलान्यास भएको करिब चार वर्ष पुग्न लाग्दा पनि अघि बढ्न सकेको छैन। पुल निर्माण हुने आशामा बसेका स्थानीय अहिले निराश भएका छन्।२०७९ असोज ९ गते तत्कालीन वन तथा वातावरणमन्त्री तथा हालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एकै दिन पसाहा खोलामा जैतापुर–रामनगर र खमुवा–मधुवन जोड्ने दुईवटा पुलको शिलान्यास गर्नुभएको थियो। त्यसमध्ये खमुवा–मधुवन पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसके पनि जैतापुर–रामनगर पुलको काम भने सुरु हुन सकेको छैन।

सिमरा–कोल्हवी सडकखण्डअन्तर्गत निर्माण हुने उक्त पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र निर्माणस्थलको साइट क्लियर गर्ने कामसमेत गरिएको बताइएको छ। शिलान्यासका क्रममा करिब ४० करोड रुपैयाँको लागतमा १६५ मिटर लामो पुल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा गरिएको थियो। उक्त समयसीमा अनुसार काम भएको भए पुल सञ्चालनमा आएको लामो समय भइसक्ने स्थानीयको भनाइ छ।वडा नं. १७ का अध्यक्ष भीमबहादुर गन्तानका अनुसार पुल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने क्रममा जनप्रतिनिधि तथा सामाजिक अगुवाको उपस्थितिमा निर्माणस्थलको अनुगमन गरी चारकिल्ला निर्धारण गरिएको छ।

नगरपालिकाको अगुवाइमा साइट क्लियर गर्ने कामसमेत भइसकेको उहाँले बताउनुभयो।तर, पुल निर्माणमा भएको ढिलाइप्रति स्थानीय भने आक्रोशित छन्। रामनगरका स्थानीय नवराज खड्काले तत्कालीन समयमा पर्याप्त तयारी र बजेट सुनिश्चित नगरी चुनावी चर्चाका लागि पुल शिलान्यास गरिएको आरोप लगाउनुभयो। उहाँका अनुसार त्यतिबेला पुल निर्माणलाई लिएर ठूलो आशा जगाइए पनि वर्षौं बित्दा पनि निर्माण सुरु नहुनु दुःखद् हो।
तत्कालीन संघीय सांसद रामबाबु प्रसाद यादवले पनि पुल निर्माणका लागि सरकारले डीपीआर तयार गरिसकेको र बजेट विनियोजन भएको जानकारी त्यसबेला दिनुभएको थियो।

पसाहा खोलाले वर्षेनी धार परिवर्तन गर्ने भएकाले करिब ९ सय मिटर क्षेत्रसम्म खोला फैलिएको देखिए पनि करिब दुई सय मिटर आसपासको पुल निर्माण गर्ने गरी प्रक्रिया अघि बढाइएको बताइएको थियो।पुल नहुँदा वडा कार्यालयबाट सेवा लिन जाने एउटै वडाका स्थानीयलाई समेत समस्या हुँदै आएको छ। वर्षायाममा पसाहा खोलामा बाढी, डुबान र हिलोका कारण आवतजावत कठिन हुने गरेको स्थानीय आत्मादेव भट्टराईले बताउनुभयो। सुख्खायाममा भने बालुवा र धुलोका कारण समस्या हुने गरेको उहाँको भनाइ छ।
व्यस्त सडकखण्डमा पुल निर्माण भए स्थानीयको आवतजावत सहज हुनुका साथै वडा कार्यालय तथा अन्य सेवा केन्द्रसम्म पुग्न लामो र जोखिमपूर्ण बाटो प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य हुने स्थानीयको अपेक्षा छ। तर, वर्षौंअघि गरिएको शिलान्यासपछि पनि निर्माण सुरु नहुँदा स्थानीयको त्यो अपेक्षा निराशामा परिणत भएको छ।