रञ्जन यादब /बारा २७ साउन
जीतपुरसिमरा उपमहानगरपालिकामा अपाङ्गता भएका तथा फरक क्षमता भएका युवाको अधिकार, पहुँच र अवसरका विषयमा बहस गर्दै अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने नाराका साथ बुधबार उपमहानगरपालिकाको सभाहलमा प्यानल छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो। नेत्रहिन युवा संघ नेपाल र सीबीएम ग्लोबल डिसएबिलिटी इन्क्लुजनको संयुक्त आयोजनामा तथा जीतपुरसिमरा उपमहानगरपालिका र सिमरा जेसीजको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता गर्दै नगर प्रमुख राजन पौडेलले अपाङ्गता भएका व्यक्तिसहित सबै नागरिकलाई समान अवसर र सेवामा पहुँच सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएको बताए। उनले युवालाई विकासको मूलधारमा जोड्न तथा अपाङ्गता भएका युवाका लागि थप समावेशी नीति र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे।उपप्रमुख भोलाप्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिले शिक्षा, रोजगारी, सार्वजनिक सेवा तथा सामाजिक जीवनमा भोग्दै आएका समस्या समाधानका लागि स्थानीय सरकार संवेदनशील रहेको बताए। आगामी दिनमा बजेट, सीप विकास, रोजगारी र अपाङ्गतामैत्री भौतिक संरचनालाई प्राथमिकतामा राखिने उनको भनाइ थियो।कार्यक्रमको मुख्य आकर्षणका रूपमा अपाङ्गता भएका व्यक्तिका अधिकार, सामाजिक विभेद, रोजगारीका अवसर, पहुँचयुक्त पूर्वाधार र राज्यको दायित्वबारे प्यानल छलफल गरिएको थियो।
छलफलमा उपप्रमुख अधिकारीसँगै अपाङ्गता समन्वय समितिकी सदस्य खेमकुमारी कार्की, सञ्चारकर्मी सुरेश बिडारी, सामाजिक अभियन्ता सर्वेश पौडेल र नेत्रहिन युवा संघ बाराका कोषाध्यक्ष शिवेन्द्रकुमार यादव सहभागी थिए।छलफलका क्रममा दृष्टिविहीन, शारीरिक तथा अन्य प्रकारका अपाङ्गता भएका युवाले आफूहरूले दैनिक जीवनमा भोगिरहेका समस्या, विभेद र अवसरको अभावबारे प्यानलिस्टसँग प्रत्यक्ष प्रश्न गरेका थिए। सहभागी युवाहरूले शिक्षा, रोजगारी, सार्वजनिक सेवा र सामाजिक सहभागितामा सहज पहुँचको मागसमेत राखेका थिए।सहभागीका जिज्ञासामाथि जवाफ दिँदै प्यानलिस्टहरूले अपाङ्गता भएका व्यक्तिको अधिकार व्यवहारमै कार्यान्वयन गर्न स्थानीय सरकार, नागरिक समाज र अन्य सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताएका थिए।




