रञ्जन यादब /बारा २६ साउन
शिक्षा विकास तथा समन्वय एकाइ बाराको आयोजनामा स्थानीय तहमा कार्यरत शिक्षा प्रमुख तथा शिक्षा अधिकृत, संस्थापक र प्रधानाध्यापकहरूबीच शिक्षा क्षेत्रका विभिन्न विषयमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कलैया स्थित श्री ३ चन्द्र मा.बि. मा मंगलबार आयोजित कार्यक्रममा स्थानीय तह र विद्यालयमा विभिन्न आर्थिक वर्षमा कायम रहेका बेरुजु फछ्र्यौट, गाउँ तथा नगर शिक्षा योजना निर्माण तथा कार्यान्वयन, अनिवार्य तथा निःशुल्क शिक्षा लागू गर्न बाँकी रहेका स्थानीय तह र जिल्ला साक्षर घोषणा गर्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा संस्थागत आधारभूत तथा माध्यमिक तहका प्रधानाध्यापक, स्थानीय तहका शिक्षा प्रमुख तथा शिक्षा अधिकृतलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायबारे आपसी छलफल तथा अनुभव आदानप्रदान गरेका थिए।शिक्षा विकास तथा समन्वय एकाइ बाराले स्थानीय तहसँगको समन्वयमा शिक्षा क्षेत्रका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा बाँकी रहेका कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाउन अन्तरक्रिया आयोजना गरिएको जनाएको छ।
कार्यक्रममा बेरुजु फछ्र्यौटलाई प्रभावकारी बनाउने, स्थानीय तहका शिक्षा योजना कार्यान्वयनमा जोड दिने तथा अनिवार्य र निःशुल्क शिक्षा सुनिश्चित गर्दै जिल्लालाई साक्षर घोषणा गर्ने प्रक्रियालाई गति दिने विषयमा विशेष जोड दिइएको थियो।




