बिदुर खड्का/ डुमरबाना २७ साउन
बारा, पर्सा र रौतहट जिल्लाका सीमान्तकृत तथा कुष्ठरोग प्रभावित समुदायका स्वयंसहायता समूहका अगुवाहरूका लागि दुईदिने नेतृत्व तथा पैरवी तालिम सिमरामा सम्पन्न भएको छ।
लेप्रोसी मिसन नेपालअन्तर्गत सञ्चालित स्वयंसहायता समूहका च्याम्पियन अगुवाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा तीन जिल्लाका २२ जना अगुवाहरूको सहभागिता रहेको थियो। तालिममा समूहले स्थानीय कार्यक्षेत्रमा काम गर्ने क्रममा भोग्नुपर्ने समस्या, त्यसको समाधानका उपाय, नेतृत्व विकास, अधिकारका विषयमा पैरवी तथा स्थानीय तहसँग समन्वय गर्नेलगायतका विषयमा छलफल तथा अभ्यास गरिएको थियो।
तालिमले कुष्ठरोग प्रभावित, एकल महिला, दलित तथा अपाङ्गता भएका व्यक्तिहरूलगायत सीमान्तकृत समुदायका सदस्यलाई संगठित गर्दै उनीहरूका समस्या स्थानीय तह तथा सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउन समूह अगुवाको भूमिका थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
लेप्रोसी मिसन नेपालका जिल्ला कोअर्डिनेटर रामहरि रेग्मीका अनुसार हाल बारा जिल्लामा ५, पर्सामा ९ र रौतहटमा ८ वटा स्वयंसहायता समूह सञ्चालनमा रहेका छन्। ती समूहले समुदायमा कुष्ठरोगसम्बन्धी जनचेतना अभिवृद्धि, प्रभावित व्यक्तिको अधिकारका लागि पैरवी तथा सामाजिक विभेद न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएका छन्।
तालिममा लेप्रोसी मिसन नेपालका प्रोग्राम म्यानेजर स्मृति सुवाल, केसब शर्मा, सिमरा शाखाका सरोज बेलबासे, दिपेश यादव तथा रौतहटका रोशन साहलगायतले सहजीकरण गरेका थिए।
सहभागी अगुवाहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आ–आफ्नो स्थानीय कार्यक्षेत्रमा प्रयोग गर्दै स्वयंसहायता समूहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। उनीहरूले कुष्ठरोग प्रभावित तथा सीमान्तकृत समुदायका समस्या समाधानका लागि स्थानीय सरकार, स्वास्थ्य संस्था र अन्य सरोकारवाला निकायसँग सहकार्य र पैरवीलाई थप प्रभावकारी बनाउने बताएका छन्।




