नारायणी अस्पतालमा एन्टिस्नेक भेनम अभाव, सर्पदंशका बिरामी उपचारका लागि अन्यत्र जान बाध्य

रञ्जन यादब /बारा २६ साउन

सर्पले डसेपछि उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुगेका जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहाका शेरबहादुर श्रेष्ठलाई अस्पतालमा एन्टिस्नेक भेनम नभएपछि थप उपचारका लागि हेटौंडा लैजानुपरेको छ। सर्पले डसेलगत्तै जीवन बचाउने आशामा नारायणी अस्पताल पुगेका श्रेष्ठको परिवारले आकस्मिक कक्षमा पुगेपछि मात्रै एन्टिस्नेक भेनम नभएको जानकारी पाएको जनाएको छ।श्रेष्ठका सालो कमल श्रेष्ठका अनुसार अस्पतालमा औषधि उपलब्ध नभएपछि बिरामीलाई हेटौंडा लैजानुपरेको हो।

उपचारमा ढिलाइ हुने हो कि भन्ने डरले परिवार थप तनावमा परेको उनले बताए।नारायणी अस्पतालका प्रशासन प्रमुख सुशील यादवका अनुसार अस्पतालमा सोमबारदेखि एन्टिस्नेक भेनम सकिएको हो। चितवनबाट प्रदेश सरकारमार्फत बुधबारसम्म औषधि आपूर्ति हुने जानकारी प्राप्त भएको उनले बताए।गर्मी र वर्षायामसँगै सर्पदंशका घटना बढेपछि एन्टिस्नेक भेनमको मागसमेत बढेको अस्पताल प्रशासनको भनाइ छ। अहिले नारायणी अस्पतालमा दैनिक आठदेखि १० जना सर्पदंशका बिरामी आउने गरेका छन्।विषालु सर्पले टोकेको एक बिरामीलाई २० देखि २२ भायलसम्म एन्टिस्नेक भेनम आवश्यक पर्ने भएकाले मौज्दात छिट्टै सकिने गरेको प्रशासन प्रमुख यादवले बताए।

पर्सा जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत एन्टिस्नेक भेनमको अभाव रहेको अस्पतालले जनाएको छ। औषधि आपूर्तिका लागि प्रदेश आपूर्ति शाखा र सम्बन्धित केन्द्रीय निकायमा पत्राचार गरिएको अस्पताल प्रशासनको भनाइ छ।अस्पताल प्रशासनले औषधि अभावबारे सूचना टाँस गरिएको दाबी गरे पनि सेवाग्राहीले अस्पताल पुगेपछि मात्रै औषधि नभएको थाहा पाउने गरेको गुनासो गरेका छन्।

यसैबीच, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले नारायणी अस्पतालमा तत्काल एन्टिस्नेक भेनमको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

वर्षायामसँगै तराई–मधेसमा सर्पदंशका घटना बढिरहेका बेला प्रदेशकै प्रमुख सरकारी अस्पतालमा जीवनरक्षक औषधिको अभाव देखिनु गम्भीर विषय बनेको छ। सर्पदंशका बिरामीले उपचारका लागि अस्पतालबाट अर्को शहर पुग्नुपर्ने अवस्था अन्त्य गर्न तत्काल औषधिको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।