रञ्जन यादब /बारा २८ असार
सामाजिक सेवामा सक्रिय समाजसेवी राजी राणाले खेलकुद क्षेत्रको विकासमा अर्को महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँले बाराको सिमरामा करिब एक करोड २५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न प्रभुराजी एनजेजेवाईसी फुटबल एकेडेमी भवनको उद्घाटन गर्नुभएको हो ।भवन उद्घाटनपछि एकेडेमीको निरीक्षण गर्दै राणाले खेलकुदको विकासका लागि आवश्यक थप सहयोग गर्न आफू तयार रहेको बताउँनुभयो । उहाँले एकेडेमीका पदाधिकारीसँग भेटेर आवश्यक पूर्वाधार र आगामी योजनाबारे जानकारीसमेत लिनुभएको थियो ।
सिमराकी राजी राणा सामाजिक सेवामा परिचित नाम हो । मुसहर समुदायका लागि व्यवस्थित बस्ती निर्माण, शिक्षा, खानेपानी, खेलकुद तथा विपन्न समुदायलाई सहयोग गर्दै उनी विभिन्न सामाजिक अभियानमा निरन्तर सक्रिय रहँदै आएकी छन्। स्थानीयका अनुसार उहाँ प्रचारभन्दा परिणाममुखी सामाजिक सेवामा विश्वास गर्ने व्यक्तित्वका रूपमा चिनिनुहुन्छ ।उहाँले स्थापना गर्नुभएको प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठी मार्फत सरकारी कार्यालय, बजार क्षेत्र र मन्दिर परिसरमा सर्वसाधारणका लागि चिसो तथा शुद्ध पिउने पानीको व्यवस्था गरिएको छ।
श्रीमान् प्रभु शमशेर जबराको निधनपछि पनि उहाँले गुठीलाई सक्रिय बनाउँदै सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिँदै आउँनुभएको छ ।यसअघि २०८० साल असोजमा राणाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.६ मा २० मुसहर परिवारका लागि व्यवस्थित आवाससहितको मुसहर बस्ती निर्माण गराएकी थिइन्। उक्त बस्तीको पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यहरूले समेत अवलोकन गरेका थिए।मुसहर बस्ती निर्माणपछि अब सुविधासम्पन्न फुटबल एकेडेमी स्थापना गरेर राजी राणाले सामाजिक विकाससँगै खेलकुद पूर्वाधार विस्तारमा पनि आफ्नो योगदानलाई थप मजबुत बनाउँनुभएको छ ।




