साना किसान कृषि सहकारीको ११औँ स्थापना दिवस, अपाङ्गता भएका दुई जनालाई आर्थिक सहयोग

रञ्जन यादब /बारा ३१ असार

साना किसान कृषि सहकारी संस्था लिमिटेड, सिमराले आफ्नो ११औँ स्थापना दिवस विभिन्न सामाजिक कार्यक्रमका साथ मनाएको छ। संस्थाको सिमरास्थित कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा अपाङ्गता भएका दुई जना व्यक्तिलाई जनही ५ हजार १ सय रुपैयाँका दरले आर्थिक राहत प्रदान गरिएको हो।

राहत प्राप्त गर्नेमा पथलैयाकी अञ्जली फुएल र सिमराका नसिब हुसैन रहेका छन्। कार्यक्रम संस्थाकी कार्यबाहक अध्यक्ष श्यामा शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लेखा समिति संयोजक किशोर शर्मा विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा संस्थाकी सचिव मीरा पुरीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सहजकर्ता कुलोत्तम पोख्रेलले स्थापना दिवसको उद्देश्य, सहकारीको हालसम्मको यात्रा तथा सञ्चालनमा रहेका गतिविधिबारे जानकारी गराएका थिए।

स्थापना दिवसको अवसरमा ‘११औँ स्थापना दिवस’ अंकित केक काटेर संस्थाले वार्षिकोत्सव मनाएको थियो। सहभागीहरूले सहकारीले सामाजिक क्षेत्रमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सदस्यमुखी र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।