रञ्जन यादव /बारा २७ असार
जिल्ला समन्वय समिति बाराले डिभिजन वन कार्यालय बाराले आर्थिक वर्षभरि सञ्चालन गरेका विभिन्न वन संरक्षण, वृक्षारोपण तथा पूर्वाधार निर्माणसम्बन्धी कार्यक्रमहरूको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ।जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहको नेतृत्वमा गएको अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा पुगेर वन कार्यालयले सम्पन्न गरेका महत्वपूर्ण योजनाहरूको अवस्था, प्रभावकारिता तथा गुणस्तरको अवलोकन गरेको हो।

अनुगमनका क्रममा जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयामा निर्माण गरिएको जल संरक्षणका लागि पोखरी, निजगढ नगरपालिका–१३ सिंगोल क्षेत्रमा करिब ८ हेक्टर क्षेत्रफलमा गरिएको वृक्षारोपण, कोल्हबी नगरपालिका–५ मा वन अतिक्रमण हटाएर गरिएको वृक्षारोपण, साथै विभिन्न स्थानमा निर्माण गरिएका चौतारा तथा वन क्षेत्रमा गरिएको संरक्षणका कार्यहरूको स्थलगत निरीक्षण गरिएको थियो। अनुगमन टोलीलाई डिभिजन वन कार्यालय बाराका वन अधिकृत ललन राउतले समन्वय गरेका थिए।

निरीक्षणका क्रममा सम्बन्धित सब–डिभिजन वन कार्यालयका वन अधिकृतहरूले आफ्नो कार्यक्षेत्रमा सम्पन्न भएका योजना, खर्चको अवस्था, संरक्षणका उपलब्धि तथा आगामी योजनाबारे विस्तृत जानकारी गराएका थिए।सभापति नरेन्द्र साहले वन संरक्षण, वातावरणीय सन्तुलन र जलवायु परिवर्तनका चुनौतीलाई ध्यानमा राख्दै डिभिजन वन कार्यालयले सञ्चालन गरेका वृक्षारोपण, जल संरक्षण तथा वन व्यवस्थापनका कार्यक्रमहरू सकारात्मक रहेको बताए। उनले रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण, निर्माण भएका संरचनाको नियमित मर्मत तथा समुदायको सक्रिय सहभागितामा विशेष ध्यान दिनुपर्ने सुझाव दिए।
डिभिजन वन कार्यालय बाराले चालु आर्थिक वर्षमा वन संरक्षण, अवैध वन पैदावार नियन्त्रण, वृक्षारोपण, जलाधार संरक्षण, चौतारा निर्माण, वन क्षेत्र व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको जनाएको छ । अनुगमन टोलीमा जिल्ला बन आपुर्ति समिती बाराकी अध्यक्ष रिता रिजाल ,सामुदायिक बनका प्रतिनिधि , सञ्चारकर्मी ,बनकर्मी लगायतको सहभागिता रहेको थियो ।




