अखिल नेपाल औद्योगिक मजदुर संघ हुलास स्टिल सिमराको १०औँ अधिवेशन सम्पन्न, प्रदीप गिरी पुनः अध्यक्ष चयन

रञ्जन यादब /बारा २७ असार

अखिल नेपाल औद्योगिक मजदुर संघ, हुलास स्टिल लिमिटेड सिमराको १०औँ अधिवेशन कारखाना परिसरमा सम्पन्न भएको छ। अधिवेशनले पुन ः प्रदीप गिरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।अधिवेशनको प्रमुख अतिथिका रूपमा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव अर्जुन चिमोरियाको उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष बेनी तिमल्सिना सहभागी भएका थिए। त्यस्तै कार्यक्रममा कृष्णप्रसाद पुडासैनी, डी.बी. थापा, शत्रुघ्न झा, जंगबहादुर थारु तथा शहीद परिवारका प्रतिनिधि सुमित्रा श्रेष्ठलगायत विभिन्न ट्रेड युनियनका नेता तथा मजदुरहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम युनियनका अध्यक्ष प्रदीप गिरीको अध्यक्षतामा तथा सहसचिव राजु प्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो। वक्ताहरूले मजदुरहरूको हक, हित र अधिकार संरक्षणका लागि संगठनलाई अझ सुदृढ बनाउँदै उद्योग र श्रमिकबीच सुमधुर श्रम सम्बन्ध कायम गर्न नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए। अधिवेशनबाट उपाध्यक्षमा युवराज खनाल र रामकिशोर झा, सचिवमा ओमप्रकाश प्रसाद , सहसचिवमा राजु प्रसाद अधिकारी , कोषाध्यक्षमा मिन बहादुर चौधरी र कोषाध्यक्षमा बिमला श्रेष्ठ चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरूमा बुद्ध लामा , , लक्ष्मी चौधरी, तारा लामा, रामराज खाँ, राजु राई , प्रशान्त बराल, यम बहादुर बस्नेत र गोविन्द थापा चयन भएका छन्।नवनिर्वाचित अध्यक्ष गिरीसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित अतिथिहरूले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मजदुर हित, श्रमिक अधिकार र संस्थागत विकासका लागि सक्रियतापूर्वक कार्य गर्न आग्रह गरेका थिए।