कञ्चनपुरमा एक महिने सिलाइ–कटाइ तालिम सम्पन्न, १३ महिला लाभान्वित

रञ्जन यादव /बारा, असार २१

जीतपुरसिमरा उपमहानगरपालिका–२० कञ्चनपुरमा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको एक महिने सिलाइ–कटाइ तालिम सम्पन्न भएको छ।

वडा कार्यालयको दुई लाख रुपैयाँ बजेटमा जेठ २० गतेदेखि सञ्चालन भएको तालिम आइतबार आयोजित समापन समारोहसँगै सम्पन्न भएको हो। समापन कार्यक्रममा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी प्रमुख अतिथि तथा वडा अध्यक्ष रसुल मियाँ अध्यक्ष रहनुभएको थियो।

तालिममा विपन्न, एकल तथा उत्पीडित समुदायका १३ जना महिलाको सहभागिता रहेको थियो। तालिम सफलतापूर्वक पूरा गरेका सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको वडा सचिव हरिकिशोर साहले जानकारी दिनुभयो।

समापन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य चौधरीले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै स्वरोजगारतर्फ अघि बढ्न सहभागी महिलालाई आग्रह गर्नुभयो। उहाँले सीप र श्रमलाई आत्मनिर्भरताको मुख्य आधारका रूपमा उल्लेख गर्दै सीपको सही उपयोगले आर्थिक अवस्था सुधार गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले स्थानीय आवश्यकता र मागका आधारमा यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले तालिमबाट सिकेको सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी आफ्नै उद्यम सुरु गर्न सहभागीलाई प्रेरित गर्दै उत्पादन र आयआर्जन बढाउने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो।

वडा अध्यक्ष रसुल मियाँले महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै वडाले निरन्तर सीप विकाससम्बन्धी तालिम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त सीपलाई आयआर्जनसँग जोड्न आग्रह गर्दै आगामी दिनमा पनि स्थानीय आवश्यकताअनुसार यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी तथा तालिमका सहभागीहरूको उपस्थिति रहेको थियो। सहभागी महिलाहरूले तालिमले नयाँ सीप सिक्न र स्वरोजगारको आधार निर्माण गर्न महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिँदै वडा कार्यालय र उपमहानगरपालिकाप्रति आभार व्यक्त गरेका थिए।