रञ्जन यादब /बारा २१ असार
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित टेढा रोड क्षेत्रमा यात्रु (प्यासेन्जर) तानातान गर्ने क्रममा दुई अटोचालकबीच भएको झडपमा एक चालक गम्भीर घाइते भएका छन्।आइतबार भएको घटनामा अटो चालक गोविन्द बस्नेतको एउटा कान चुँडिएको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार सडक किनारमा पार्किङ गरेर यात्रु कुरिरहेका अटोचालकहरूबीच यात्रु आफ्नो अटोमा चढाउने विषयमा विवाद सुरु भएको थियो। सामान्य भनाभनले उग्र रूप लिएपछि दुवै पक्षबीच मुक्कामुक्की र धकेलाधकेल भएको थियो। सोही क्रममा अर्का अटो चालक रामबहादुर श्रेष्ठले धकेल्दा गोविन्द बस्नेत मोटरसाइकलमा ठोक्किन पुगेका थिए। मोटरसाइकलको तीखो भागमा कान लाग्दा उनको एउटा कान चुँडिएको र शरीरभरि रगत बगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। घाइते बस्नेतलाई उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुवै अटोचालकलाई नियन्त्रणमा लिई घटनामा संलग्न अटोसमेत प्रहरी चौकीमा राखेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।दुबै अटोहरु जीतपुरको टेडा रोड देखि पर्सा जिल्लाका बिभिन्न ग्रामिण भागहरुमा जाने गर्दछ ।

स्थानीयवासीका अनुसार जीतपुर क्षेत्रमा लामो समयदेखि बस ,म्याजिक तथा अटोचालकहरूबीच यात्रु तानातान गर्ने, तोकिएको पार्किङ क्षेत्रबाहिर सवारी रोक्ने तथा ट्राफिक नियम र न्यूनतम व्यावसायिक आचारसंहिताको पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ। यसले बेला–बेलामा विवाद, झगडा र दुर्घटनासमेत निम्त्याउने गरेको उनीहरूको भनाइ छ।स्थानीयले सम्बन्धित निकायलाई अटो सञ्चालनमा कडाइ गर्न, तोकिएको स्थानबाट मात्रै यात्रु चढाउने व्यवस्था लागू गर्न तथा अटोचालकहरूलाई अनुशासित र जिम्मेवार बनाउन प्रभावकारी अनुगमन गर्न आग्रह गरेका छन्।




