दुव्र्यवहार र सामाजिक अपमानपछि १३ वर्षीया किशोरीको आत्महत्या, एक किशोर पक्राउ

बारा — बाराको कलैया उपमहानगरपालिका–२१ मा १३ वर्षीया एक किशोरीले दुव्र्यवहार र सार्वजनिक अपमानपछि आत्महत्या गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार असार १५ गते ती किशोरी गाउँ नजिकैको सार्वजनिक स्थानमा आफ्ना दुई जना युवक साथीहरूसँग कुरा गरिरहेकी थिइन्। त्यसक्रममा गाउँका केही युवाहरू त्यहाँ पुगेर उनीहरूलाई गालीगलौज गर्नुका साथै कुटपिट र अभद्र व्यवहार गरेका थिए।

प्रहरीका अनुसार उक्त घटनाको भिडियोसमेत खिची सामाजिक सञ्जालमा सार्वजनिक गरिएको थियो। भिडियो भाइरल भएपछि किशोरीले थप मानसिक तनाव भोग्नुपरेको र केही व्यक्तिहरूले उनको घरमै पुगेर अभिभावकसामु समेत अपमानजनक व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

लगातारको मानसिक दबाब सहन नसकी किशोरीले असार १६ गते आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

घटनापछि मृतककी आमाले इलाका प्रहरी कार्यालय सिमरामा पुगेर घटनामा संलग्न व्यक्तिहरूविरुद्ध किटानी जाहेरी दर्ता गराएकी छन्। आमाको जाहेरी र प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेका किशोरविरुद्ध जबरजस्ती करणी तथा आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ। साथै, पक्राउ परेका किशोरबाट प्राप्त बयान र अन्य प्रमाणका आधारमा घटनामा संलग्न रहेका थप व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिएका छन्।

प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको र संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने जनाएको छ।