परवानीपुरमा बिउ उत्पादन तथा व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सुरु

बारा, असार

 प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कृषि अनुसन्धान निर्देशनालय परवानीपुरको सभाहलमा बिउ उत्पादन तथा व्यवस्थापनसम्बन्धी तीनदिने तालिम शनिबारदेखि सुरु भएको छ।

कृषक, कृषि प्राविधिक, सहकारीकर्मी तथा बीउ व्यवसायसँग आबद्ध व्यक्तिहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहरभवन, ललितपुरका वरिष्ठ बाली विकास अधिकृत डा. प्रकाश आचार्यसहित अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेका छन्।

तालिममा गुणस्तरीय बीउ उत्पादनका आधारभूत सिद्धान्त, विभिन्न बालीका लागि बीउ उत्पादन प्रविधि, उपयुक्त खेत छनोट, बालीको पृथकीकरण दूरी, रोग तथा कीरा व्यवस्थापन, बीउ संकलन, प्रशोधन, ग्रेडिङ, सुरक्षित भण्डारण, प्याकेजिङ र बजारीकरणका विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।

यसका साथै बीउको अंकुरण क्षमता र शुद्धता परीक्षण, चिस्यान व्यवस्थापन, गुणस्तर कायम गर्ने उपाय, प्रमाणीकरण प्रक्रिया, लेबलिङ, ट्रेसबिलिटी प्रणाली, बीउ ऐन तथा नियमावली, बीउ व्यवसाय सञ्चालनसम्बन्धी कानुनी व्यवस्था तथा गुणस्तर परीक्षणका व्यावहारिक पक्षबारे पनि सहभागीलाई विस्तृत जानकारी गराइने आयोजकले जनाएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बाराका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत राम्बलम प्रसाद साहले हाल अधिकांश स्थानमा प्राविधिकको सिफारिसका आधारमा मात्र बीउ बिक्री–वितरण हुने अभ्यास रहेकाले त्यसलाई कानुनी मापदण्डअनुसार व्यवस्थित, पारदर्शी र गुणस्तरीय प्रणालीमा रूपान्तरण गर्न तालिम सञ्चालन गरिएको बताए।

उनका अनुसार अब कानुनअनुसार कुनै पनि बीउ बिक्री–वितरण गर्न गुणस्तर प्रमाणीकरण, प्रमाणीकरण ट्याग तथा तालिम प्राप्त व्यवसायीको प्रमाणपत्र अनिवार्य हुनेछ।

साहले गुणस्तरीय बीउ उत्पादन र वितरणबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, कृषकको आम्दानी विस्तार र कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे।

तीन दिनसम्म सञ्चालन हुने तालिममा सहभागीहरूले बीउ उत्पादनदेखि गुणस्तर परीक्षण, प्रमाणीकरण, सुरक्षित भण्डारण र बजारीकरणसम्मका सम्पूर्ण प्रक्रियाको व्यावहारिक अभ्यास गर्नेछन्। यस तालिमले स्थानीय स्तरमै गुणस्तरीय बीउ उत्पादन र सहज उपलब्धता बढाई कृषि क्षेत्रको दिगो विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।