रञ्जन यादब /बारा १७ असार
बाराको कोल्हबी नगरपालिका–५ सखुवाहामा करिब दुई दशकदेखि अतिक्रमणमा परेको करिब १५ बिघा राष्ट्रिय वन क्षेत्र खाली गराई पुनः डिभिजन वन कार्यालय बाराको मातहतमा ल्याइएको छ।
स्थानीय केही व्यक्तिहरूले उक्त वन क्षेत्र अतिक्रमण गरी वर्षौंदेखि खेतीपाती गर्दै आएका थिए भने केही भागलाई श्मशानका रूपमा समेत प्रयोग गरिँदै आएको थियो। लामो समयदेखि अतिक्रमणमा रहेको जग्गा संरक्षणका लागि डिभिजन वन कार्यालय बाराले विशेष अभियान सञ्चालन गर्दै वन क्षेत्र खाली गराएको हो।

सब–डिभिजन वन कार्यालयको नेतृत्वमा वन अधिकृत कृष्णकुमार पटेलसहितको वन कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षा व्यवस्थाका बीच अतिक्रमित क्षेत्र खाली गराई वन कार्यालयको नियन्त्रणमा ल्याएको हो। अभियानका क्रममा कुनै अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाइएको थियो।

डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजित कुमार झाको प्रत्यक्ष निर्देशनमा सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत वन क्षेत्रको सीमा निर्धारण गरी तत्काल तारबार गर्ने कार्य सुरु गरिएको छ। साथै भविष्यमा पुनः अतिक्रमण हुन नदिन नियमित निगरानीसमेत बढाइने जनाइएको छ।
वन अधिकृत कृष्णकुमार पटेलका अनुसार खाली गराइएको जग्गामा तारबार गरी वृक्षारोपण कार्यक्रम अघि बढाइएको छ। वर्षायामलाई लक्षित गर्दै स्थानीय वातावरणअनुकूल विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारी भइरहेको उनले बताए। यस अभियानले वन क्षेत्रको संरक्षण, जैविक विविधताको संवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
डिभिजन वन कार्यालय बाराले राष्ट्रिय वन क्षेत्रमा हुने अतिक्रमण, अवैध बसोबास तथा अनधिकृत उपयोगविरुद्ध आगामी दिनमा पनि कानुनी प्रक्रिया अनुरूप कडाइका साथ अभियान सञ्चालन गरिने जनाएको छ। साथै वन क्षेत्र संरक्षणमा स्थानीय समुदाय, जनप्रतिनिधि तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको कार्यालयले उल्लेख गरेको छ।




