रञ्जन यादब /बारा १७ असार
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (प्र.ना.म.नि.) ओम प्रसाद अधिकारी ले इलाका प्रहरी कार्यालय सिमराको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँसँगै नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय वीरगञ्ज, पर्साका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (प्र.ब.उ.) कृष्ण बहादुर पल्ली मगर समेत निरीक्षण कार्यक्रममा सहभागी हुनुभएको थियो।

निरीक्षणका क्रममा प्रहरी नायब महानिरीक्षक अधिकारीले कार्यालयका विभिन्न शाखा, अभिलेख, सेवा प्रवाहको अवस्था, हिरासत कक्ष, कार्यालय परिसर तथा प्रशासनिक व्यवस्थापनको स्थलगत अवलोकन गर्नुभएको थियो। निरीक्षणपछि आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) दिलीप क्षेत्री, मातहतका प्रहरी इकाइका प्रमुख तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्र.ना.म.नि. अधिकारीले सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध ओसारपसार, भन्सार छली, अवैध गतिविधि तथा संगठित अपराध नियन्त्रणलाई उच्च प्राथमिकता दिन निर्देशन दिनुभयो।

उहाँले अपराध न्यूनीकरणका लागि सूचना संकलन, गस्ती परिचालन, अन्तरनिकाय समन्वय र अनुसन्धानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। त्यसैगरी उहाँले नागरिकमैत्री प्रहरी सेवा प्रवाह, सेवाग्राहीप्रति सम्मानजनक व्यवहार, सामाजिक सञ्जालको जिम्मेवार र सकारात्मक प्रयोग, कार्यालयमा कुनै पनि प्रकारको बिचौलिया प्रवेश पूर्ण रूपमा निषेध गर्नुपर्ने तथा प्रहरी आचारसंहिताको अक्षरशः पालना गर्न निर्देशन दिनुभयो।
विगतमा भएका विभिन्न घटनाबाट सिक्दै भविष्यमा त्यस्ता कमजोरी दोहोरिन नदिन सबै प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता, अनुशासन र इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो। प्रहरी संगठनप्रतिको जनविश्वास अझ सुदृढ बनाउन पारदर्शी, जवाफदेही र प्रभावकारी कार्यशैली अपनाउनुपर्ने उल्लेख गर्दै उहाँले शान्ति सुरक्षा कायम राख्न समुदायसँगको सहकार्यलाई थप मजबुत बनाउन पनि निर्देशन दिनुभयो।




