मधेसमा ओभरलोड सवारीमाथि कडाइ ः ७३० सवारीबाट एक करोड ३१ लाखभन्दा बढी जरिवाना

रञ्जन यादब /बारा १६ असार

मधेस प्रदेशमा क्षमताभन्दा बढी भार बोकेर सञ्चालन भएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले चालु आर्थिक वर्षभरि कडा निगरानी गर्दै ठूलो परिमाणमा जरिवाना असुल गरेको छ। असार १० गतेसम्मको तथ्यांकअनुसार नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, मधेस प्रदेश अन्तर्गतका कार्यालयहरूले ७३० वटा ओभरलोड सवारीसाधनबाट कुल एक करोड ३१ लाख ५८ हजार ४५८ रुपैयाँ राजस्व संकलन गरेका छन्। पथलैयामा रहेको प्रादेशिक कार्यालयसँगै बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाका ट्राफिक कार्यालयले उक्त जरिवाना संकलन गरेका हुन्। यद्यपि सप्तरी जिल्लामा भने चालु आर्थिक वर्षमा ओभरलोडका कारण कुनै पनि जरिवाना असुल नभएको तथ्यांकले देखाएको छ।

ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार पथलैयास्थित प्रादेशिक कार्यालयले मात्रै २४३ वटा सवारीसाधनलाई कारबाही गर्दै ५४ लाख ५९ हजार ४६८ रुपैयाँ जरिवाना उठाएको छ।जिल्लागत रूपमा हेर्दा पर्सा सबैभन्दा अगाडि रहेको छ। पर्सामा ३९४ वटा सवारीसाधनमाथि कारबाही हुँदा ५६ लाख २३ हजार ८२८ रुपैयाँ जरिवाना असुल भएको छ। त्यसपछि महोत्तरीमा ३० वटा सवारीसाधनबाट ७ लाख ८६ हजार ९८ रुपैयाँ, सर्लाहीमा २५ वटा सवारीसाधनबाट ५ लाख ९६ हजार ८१७ रुपैयाँ तथा धनुषामा १८ वटा सवारीसाधनबाट ३ लाख ६४ हजार ३९३ रुपैयाँ जरिवाना संकलन गरिएको छ।त्यसैगरी रौतहटमा १२ वटा सवारीसाधनबाट २ लाख ३९ हजार २२५ रुपैयाँ, बारामा सात वटा सवारीसाधनबाट ८२ हजार ६२९ रुपैयाँ र सिरहामा एउटा सवारीसाधनबाट ६ हजार रुपैयाँ जरिवाना असुल गरिएको ट्राफिक प्रहरीले जनाएको छ।ट्राफिक प्रहरीले ओभरलोडको मात्रा र प्रकृतिका आधारमा कारबाही गर्ने नीति अपनाएको जनाएको छ।

सामान्य रूपमा क्षमताभन्दा बढी भार बोकेका सवारीलाई कार्यालयबाटै न्यूनतम जरिवाना गरिने भने अत्यधिक भार बोकेका सवारीलाई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइने गरिएको छ।प्रहरी उपरीक्षक बस्नेतका अनुसार जरिवाना तिर्नु मात्रै पर्याप्त मानिँदैन। क्षमताभन्दा बढी लोड गरिएका सामान अनलोड गराएपछि मात्र सम्बन्धित सवारीसाधनलाई गन्तव्यतर्फ जान अनुमति दिने व्यवस्था कार्यान्वयनमा रहेको छ।