जीतपुरमा १५ सदस्सीय क्षयरोग क्लब गठन, उपचाररत बिरामीलाई मनोसामाजिक सहयोग र जनचेतनामा जोड

रञ्जन यादब /बारा १५ असार

बाराको जीतपुरस्थित प्राथमिक स्वास्थ्य संस्थामा क्षयरोग क्लब (टि.बि.)गठन भएको छ ।नेपाल सरकारको राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत गलोबल फण्ड र यु.एन.डि.पी.को साझेदारीमा बागमती सेवा समाज नेपालले क्षयरोग ((टि.बि.)क्लब गठन गरेको हो । आयोजित कार्यक्रममा क्षयरोगको सफल उपचार गरी पूर्ण रूपमा निको भएका बिरामीहरूको सहभागितामा टि.बि.क्लब गठन गरिएको परियोजनाको बारा जिल्लाको फिल्ड संयोजक प्रदिप चौरसियाले जानकारी दिए । क्लब गठनको मुख्य उद्देश्य उपचाररत बिरामीलाई मनोसामाजिक सहयोग, परामर्श, स्वास्थ्य शिक्षा प्रदान गर्नुका साथै समुदायमा क्षयरोगसम्बन्धी सचेतना अभिवृद्धि गर्नु रहेको उनले बताए ।

कार्यक्रममा पूर्ण रूपमा निको भएका १५ जना क्षयरोगी, जिल्ला क्षयरोग नियन्त्रण कार्यालय का प्रतिनिधि, स्वास्थ्य संयोजक, शिक्षक प्रतिनिधि, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो। छलफलका क्रममा क्षयरोग क्लब गठनको आवश्यकता र उद्देश्य, पूर्ण रूपमा निको भएका बिरामीहरूको अनुभव आदानप्रदान, उपचाररत बिरामीलाई नियमित औषधि सेवनका लागि प्रेरणा, परामर्श तथा मनोसामाजिक सहयोग प्रदान गर्ने विषयमा विस्तृत छलफल भएको थियो। साथै समुदायमा क्षयरोगसम्बन्धी भ्रम, विभेद तथा सामाजिक कलंक न्यूनीकरणमा क्लबले खेल्ने भूमिकाबारे परियोजनाको बारा जिल्ला संयोजक बिहारी प्रसाद कुश्वाहाले जानकारी दिए।

कार्यक्रमले जीतपुर प्राथमिक स्वास्थ्य संस्थामा सोमिन्त्रा देबी सहनीको अध्यक्षतामा १५ सदस्यीय क्षयरोग क्लब गठन गरेको छ। क्लबले प्रत्येक महिना नियमित बैठक सञ्चालन गर्दै उपचाररत बिरामीलाई परामर्श, प्रेरणा तथा आवश्यक सहयोग उपलब्ध गराउने, समुदायमा क्षयरोगको शीघ्र पहिचान, उपचार र कलंक न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। त्यसैगरी क्लबका गतिविधिमा आवश्यक समन्वय, प्राविधिक मार्गदर्शन तथा अनुगमन गर्ने तथा राष्ट्रिय क्षयरोग कार्यक्रम र बागमती सेवा समाज नेपालसँग समन्वय गरी क्लबका गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न जीतपुर स्वास्थ्य चौँकीका स्वास्थ्यकर्मी प्रबिण कुमार झाको संयोजकत्वमा ९ सदस्सीय सल्लाहकार समिती पनि गठन भएको छ ।