धर्म–संस्कृति संरक्षणका लागि जीतपुरसिमरा–१४ द्वारा बाजागाँजा वितरण

रञ्जन यादब /बारा १२ असार

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ ले स्थानीय धर्म, संस्कृति तथा परम्परागत सांस्कृतिक गतिविधिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न धार्मिक तथा सामुदायिक संस्थालाई बाजागाँजा हस्तान्तरण गरेको छ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष चयन गुरुङले जनजागृति आमा समूह, वैष्णव भक्त कीर्तन मण्डली तथा धाँगर समूहलाई आवश्यक बाजागाँजा वितरण गर्नुभएको हो। हस्तान्तरण गरिएका सामग्रीमा हार्मोनियम, मादल, ढोलक, करताल, मञ्जिरा, झ्याली लगायतका बाजा रहेका छन्।कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष गुरुङले धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजमा आपसी सद्भाव, एकता र सामाजिक मूल्य–मान्यतालाई मजबुत बनाउने बताउनुभयो। उहाँले स्थानीय कला, संस्कृति र परम्परालाई पुस्तान्तरण गर्दै संरक्षण गर्न वडा कार्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।उहाँले सार्वजनिक पूजाआजा, भजन–कीर्तन, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रमलाई थप व्यवस्थित बनाउन बाजागाँजाले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै समुदायको सक्रिय सहभागिताबाट मौलिक संस्कृतिको संरक्षण सम्भव हुने उल्लेख गर्नुभयो।

बाजागाँजा प्राप्त गरेका संस्थाका प्रतिनिधिहरुले वडा कार्यालयप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्रीलाई धार्मिक तथा सामाजिक कार्यक्रममा सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले यस सहयोगले आर्थिक अभावका कारण रोकिएका सांस्कृतिक तथा धार्मिक गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरे।वडा कार्यालयका अनुसार स्थानीय धर्म, संस्कृतिको जगेर्ना, सामाजिक एकता अभिवृद्धि तथा परम्परागत सांस्कृतिक अभ्यासलाई संरक्षण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ।