युवा व्यवसायी प्रकाश गिरी पुनः महासचिवमा निर्वाचित

रञ्जन यादव /बारा, असार ८

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको महासचिव पदमा युवा व्यवसायी प्रकाश गिरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। असार ७ गते सम्पन्न संघको निर्वाचनमा अध्यक्षमा निर्वाचित गजेन्द्रकुमार गुप्ता नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका गिरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी सुशील शर्मालाई फराकिलो मतान्तरले पराजित गर्दै पुनः महासचिवको जिम्मेवारी प्राप्त गरेका हुन्।

निर्वाचन परिणामअनुसार गिरीले ५ सय १२ मत प्राप्त गर्दा शर्माले १ सय ८८ मत प्राप्त गरेका थिए। गिरीले ३ सय २४ मतको अन्तर कायम गर्दै विजयी भएका हुन्।यसअघि पनि महासचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका गिरी व्यवसायिक क्षेत्रका सक्रिय र ऊर्जाशील युवा नेतृत्वका रूपमा परिचित छन्। उद्योगी तथा व्यवसायीहरूको हकहित, व्यवसाय प्रवद्र्धन तथा संस्थागत विकासका क्षेत्रमा उनले खेलेको भूमिकाको कदर गर्दै मतदाताले पुनः विश्वास व्यक्त गरेको विश्लेषण गरिएको छ।

निर्वाचित भएपछि गिरीले सम्पूर्ण मतदाता, उद्योगी तथा व्यवसायीप्रति आभार व्यक्त गर्दै संघलाई अझ सशक्त, पारदर्शी र व्यवसायीमैत्री संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाए। उनले व्यवसायीका समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण तथा स्थानीय आर्थिक गतिविधि विस्तारका लागि नयाँ कार्ययोजना अघि सार्ने बताए।युवा पुस्तामाझ लोकप्रिय मानिने गिरी जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष घनश्याम गिरीका पुत्र समेत हुन्। पारिवारिक रूपमा व्यवसायिक तथा सामाजिक क्षेत्रमा लामो अनुभव रहेको पृष्ठभूमिले उनलाई संघको नेतृत्व तहमा थप जिम्मेवार बनाएको व्यवसायीहरूको भनाइ छ।

संघको नयाँ नेतृत्व चयनसँगै स्थानीय उद्योग, व्यापार तथा सेवा क्षेत्रको विकास, व्यवसायीको अधिकार संरक्षण र आर्थिक गतिविधि विस्तारमा संघले थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।