परवानीपुर गाउँपालिकापरवानीपुर गाउँपालिकाले आफ्नो १८ औँ गाउँसभा सम्पन्न,कुल ३६ करोड ६३ लाख १० हजार रुपैयाँको बजेट पारित

बाराको परवानीपुर गाउँपालिकापरवानीपुर गाउँपालिकाले आफ्नो १८ औँ गाउँसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। गाउँसभाले आगामी वर्षका लागि कुल ३६ करोड ६३ लाख १० हजार रुपैयाँको बजेट पारित गर्दै विकासका प्राथमिक क्षेत्रहरू निर्धारण गरेको हो।

गाउँसभामा सार्वजनिक गरिएको बजेट तथा कार्यक्रमअनुसार पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, खानेपानी आपूर्ति सुधार, खेलकुद प्रवर्द्धन र सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ। उपाध्यक्ष सुगान्धी देवी कनुईनको प्रतिनिधित्वमा प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

गाउँसभा सत्रलाई सम्बोधन गर्दै अध्यक्ष रामप्रसाद क्षत्री कुर्मीले नागरिकको प्रत्यक्ष जीवनस्तरसँग जोडिएका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विकास निर्माणका अधुरा कामहरू पूरा गर्दै सेवा प्रवाहलाई अझ सुदृढ बनाइने उल्लेख गर्नुभयो।

यसै अवसरमा चालु आर्थिक वर्षका उपलब्धिहरू पनि सार्वजनिक गरिएका थिए। गाउँपालिकाले अवरुद्ध रहेका सडक निर्माण कार्य सम्पन्न गरेको, ढल निकास प्रणाली सुधार गर्न अधुरा नाला निर्माणलाई पूर्णता दिएको तथा भित्री सडकहरूको विस्तारमार्फत आवागमन सहज बनाएको जानकारी दिएको छ। खानेपानीतर्फ डिप बोरिङ जडान, सम्पन्न आयोजनाहरूको सञ्चालन तथा सबै वडामा पहुँच विस्तार गरिएको पनि उल्लेख गरिएको छ।

रोजगार प्रवर्द्धनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई स्थानीय योजनासँग समन्वय गर्दै सञ्चालन गरिएको, युवालाई खेलकुदतर्फ आकर्षित गर्न विभिन्न वडामा क्रिकेट प्रतियोगिता आयोजना गरिएको तथा हरित अभियानअन्तर्गत करिब ५ हजार बिरुवा रोपिएको विवरण पनि प्रस्तुत गरिएको थियो।

गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न गरी २०८२ साउनदेखि सोही भवनबाट सेवा प्रवाह सुरु गरेको तथा तालिम हल निर्माण कार्य पनि सम्पन्न भइसकेको जनाएको छ।

आगामी वर्षका योजनामा खेलकुद पूर्वाधार विस्तार, नयाँ खेल मैदान निर्माण तथा अध्यक्ष कप र वडा स्तरीय क्रिकेट प्रतियोगितालाई निरन्तरता दिने योजना समावेश गरिएको छ।

आर्थिक स्रोततर्फ संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान, सशर्त अनुदान, समपूरक तथा विशेष अनुदान, राजस्व बाँडफाँड र आन्तरिक आयलाई मुख्य आधार बनाइएको गाउँपालिकाले जनाएको छ। बजेटलाई समग्र विकास, सेवा विस्तार र नागरिकको जीवनस्तर सुधारतर्फ केन्द्रित गरी कार्यान्वयन गरिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

गाउँसभामा जनप्रतिनिधि, वडाध्यक्ष तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।