स्वरोजगार प्रवर्द्धनमा जीतपुरसिमरा उपमहानगरको पहल : गार्मेन्ट फेब्रिकेटर तालिम सफलतापूर्वक सम्पन्न

रञ्जन यादव /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाले गरिबी न्यूनीकरण तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरेको प्राविधिक सीप विकास (गार्मेन्ट फेब्रिकेटर) तालिम सम्पन्न भएको छ।

उपमहानगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ९ मा जेठ २३ गतेदेखि सञ्चालन भएको उक्त तालिम सोमबार आयोजित समापन समारोहका बीच औपचारिक रूपमा सम्पन्न गरिएको हो।

समापन कार्यक्रममा नगर उपप्रमुख भोलाप्रसाद अधिकारी ले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै सीपमूलक शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने बताए। उनले तालिमबाट हासिल गरेको ज्ञान र सीपलाई व्यवहारिक रूपमा प्रयोग गरी उद्यमशीलता विकास गर्न तथा आयआर्जनका अवसर सिर्जना गर्न सहभागीहरूलाई प्रेरित गरे।

उपप्रमुख अधिकारीले स्थानीय तहले सञ्चालन गर्ने यस्ता कार्यक्रमले बेरोजगारी न्यूनीकरणका साथै आर्थिक सशक्तीकरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष मोतीलाल पासवान, कार्यपालिका सदस्यहरू प्रभावती पासवान र सुकुमाया कुमारी, अनुगमन समिति सदस्य रिना बजगाईं तथा रोजगार संयोजक महमद नसिमुल गनी, दिपनारायण चौधरी, उषा बुढाथोकी लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

उपमहानगरपालिकाले लघु उद्यम विकास कार्यक्रममार्फत स्थानीय नागरिकलाई विभिन्न व्यावसायिक तथा प्राविधिक सीप प्रदान गर्दै स्वरोजगार र उद्यमशीलता अभिवृद्धिमा जोड दिँदै आएको जनाएको छ।