नमुना माबि बकुलियाले छात्र तथा दलित बिद्यार्थीलाई छात्रबृती बितरण

रञ्जन यादब /बारा

श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियाले आर्थिक वर्ष २०८२÷०८३ अन्तर्गत छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत छात्रा तथा दलित छात्रहरूलाई लक्षित गरी छात्रवृत्ति प्रदान गरिएको हो। कार्यक्रममा कुल ३६६ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्।

प्रत्येक विद्यार्थीलाई रु ४०० का दरले रकम वितरण गरिएको विद्यालयले जनाएको छ। आर्थिक रूपमा कमजोर तथा लक्षित वर्गका विद्यार्थीहरूको शैक्षिक निरन्तरता र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।कार्यक्रममा प्रमुख अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र प्रसाद चौधरी उपस्थित रहनुभएको थियो। त्यस्तै अतिथिका रूपमा बृजमोहन चौधरीको सहभागिता रहेको थियो। विद्यालयका प्रधानाध्यापक धनञ्जय गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

उहाँले विद्यार्थीहरूलाई नियमित अध्ययनमा जोड दिन आग्रह गर्दै यस्ता सहयोगले पढाइप्रति थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रममा उल्लेख्य संख्यामा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले छात्रवृत्ति कार्यक्रमले विपन्न तथा दलित समुदायका बालबालिकालाई शिक्षातर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।विद्यालय प्रशासनले आगामी दिनमा पनि यस्ता छात्रवृत्ति तथा प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।