रञ्जन यादब /बारा
बाराको पथलैयामा पराल, भुसलगायत कृषि उत्पादनमा आवश्यक कच्चा पदार्थ बोकेका ट्रक र ट्र्याक्टरलाई ट्राफिक प्रहरीले रोक लगाएपछि किसान, व्यवसायी र चालकहरूले बुधबार प्रदेशस्तरीय ट्राफिक कार्यालय अगाडि धर्ना दिएका छन्। राजमार्गमै सयौँ सवारी रोकिएपछि उनीहरू विरोधमा उत्रिएका हुन्।हलुका कृषिजन्य सामग्री ढुवानीमै अनावश्यक अवरोध गरिँदा आन्दोलनको विकल्प नरहेको हो। उनीहरुले किसानलाई आवश्यक पराल, भुसजस्ता सामग्री ढुवानीमै बाधा पु¥याउँदा उत्पादन चक्र नै प्रभावित भएको बताएका छन्।
धर्नामा रहेका किसान तथा चालक रमन तिमल्सिनाका अनुसार पछिल्लो केही दिनयता पथलैयामा एक सयभन्दा बढी ट्रक र ट्र्याक्टर राजमार्गमै अलपत्र अवस्थामा छन्। प्रहरीको मनपरी रोकतोकका कारण ‘पैसा बुझाए मात्रै सवारी चलाउने’ जस्तो वातावरण बनाइएको आरोप लगाए।तर ट्राफिक प्रहरी उपरीक्षक राजकुमार सिलवालले भने आफूहरू कानुनी मापदण्डअनुसार मात्र कारबाहीमा उत्रिएको दाबी गरे। “तोकिएको सीमाभन्दा बढी भार बोकेका सवारी रोकिएको हो,” उनले भने, “यदि कृषिजन्य सामग्रीका लागि छुट्टै मापदण्ड छ भने प्रमाणसहित ल्याउनुपर्छ, त्यसअनुसार निर्णय हुन्छ।
” अत्यधिक अग्लो भारका कारण दुर्घटना जोखिम बढेपछि कडाइ गरिएको उनको भनाइ छ।सिलवालले ट्राफिक प्रहरीले चालकसँग अवैध रुपमा पैसा असुल्ने गरेको आरोप प्रमाणसहित पुष्टि गर्न चुनौती पनि दिएका छन्।कच्चा पदार्थ बाटोमै रोकिँदा कृषि तथा पशुपालनमा सीधा प्रभाव परिरहेको किसानहरूको गुनासो छ। व्यवसायी र किसानहरूले दीर्घकालीन समाधानका लागि सरकारसँग स्पष्ट, व्यवहारिक र कृषि–मैत्री मापदण्ड निर्माण गर्न आग्रह गरेका छन्।

