‘राष्ट्रपति बन्न कुनै प्रस्ताव आएको छैन’

काठमाडौं, पुस १६-

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपाललाई ‘राष्ट्रपति बन्ने’ कुनै प्रस्ताव नआएको प्रस्टीकरण दिएको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘नेपाललाई राष्ट्रपति बनाउने भनेर प्रस्ताव आएको सूचना झुटो रहेको’ एकीकृत समाजवादीले प्रस्ट पारेको छ ।

काठमाडौंस्थित एकीकृत समाजवादी केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले ‘अध्यक्ष नेपाललाई राष्ट्रपति बन्न कुनै प्रस्ताव नआएको’ बताए । पछिल्लो समय ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकीकरण गर्नुपर्ने’ चर्चा सुरु भएपछि प्रवक्ता खतिवडाले त्यसको खण्डन गरेका हुन् ।

यद्यपि, एमाले र एकीकृत समाजवादीका शीर्षनेताबीच पछिल्लो समय भेटघाट तथा छलफल आन्तरिक रूपमा तीव्र भएपछि यस्तो हल्ला आएको हो ।

सामाजिक सञ्जालमा यसको पक्ष र विपक्षमा बहससमेत सुरु भएको छ । कतिपयले ‘नेपाललाई राष्ट्रपति बनाएर भए पनि एमालेले पार्टी एकीकरण गर्नुपर्ने’ मत राख्दै आएका छन् । केहीले ‘नेपाललाई राष्ट्रपति बनाउनुहुदैन भन्ने मतसमेत राख्दै विभिन्न कोणबाट बहस जारी राखेका छन् ।