युवतीमाथि दुव्र्यवहारको आरोपमा युवकलाई पोलमा बाँधेर स्थानीयले गरे कुटपिट, दुवै पक्ष अस्पतालमा उपचाररत

रञ्जन यादव /बारा, २५ असार

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११ अमाडारमा एक युवतीमाथि दुव्र्यवहार तथा हातपात गरेको आरोपमा स्थानीयले एक युवकलाई नियन्त्रणमा लिएर कुटपिट गरेका छन्। घटनामा आरोपित युवक र युवती दुवै घाइते भएका छन् भने प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। घाइते हुनेमा वीरगन्ज महानगरपालिका–२८ निवासी ३४ वर्षीय अजय सहनी रहेका छन्। स्थानीयका अनुसार बुधबार साँझ सहनीले अमाडारकी १९ वर्षीया युवतीलाई एकान्ततर्फ लगेर जबरजस्ती खोलामा पछारी घाँटी थिच्दै दुव्र्यवहार गर्ने प्रयास गरेका थिए। युवतीको चिच्याहट सुनेर घटनास्थल पुगेका स्थानीयले सहनीलाई नियन्त्रणमा लिएका थिए।

आक्रोशित स्थानीयले सहनीलाई नजिकै रहेको बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका थिए। कुटपिटबाट उनी गम्भीर घाइते भएपछि उपचारका लागि पहिलो चरणमा जीतपुरसिमरा नगर अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि शरीरमा भित्री चोट देखिएकाले थप उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। हाल उनी प्रहरीको निगरानीमा उपचाररत रहेका छन्।घटनामा घाइते भएकी १९ वर्षीया युवतीको घाँटीमा चोट लागेको र सुन्निएको प्रहरीले जनाएको छ। उनको पनि नारायणी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो।

प्रहरीका अनुसार घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयको नियन्त्रणमा रहेका सहनीलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको हो। घटनामा संलग्न व्यक्तिहरूसँग बयान लिने, घटनास्थलको मुचुल्का तयार गर्ने तथा आवश्यक प्रमाण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले घटनाको वास्तविक कारण, युवतीमाथि भएको भनिएको दुव्र्यवहारको प्रकृति तथा स्थानीयबाट भएको कुटपिटसम्बन्धी दुवै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ। घटनामा कसैको संलग्नता पुष्टि भए कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।प्रहरीले कुनै पनि घटनामा कानुन हातमा नलिन सर्वसाधारणलाई आग्रह गर्दै अपराध वा शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ।