रञ्जन यादब /बारा २५ असार
जीतपुरसिमरा उपमहानगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सञ्चालित ’सुनौलो एक हजार दिन’ कार्यक्रममार्फत २८ जना विपन्न महिलालाई आयआर्जनका लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले अनुदान वितरण गरेको छ। उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा वडा नं. २० मा सम्पन्न कार्यक्रममा लाभग्राही महिलालाई तीन दिने उद्यमशीलता तथा आयआर्जनसम्बन्धी तालिम प्रदान गरेपछि अनुदान रकम उपलब्ध गराइएको हो।
कार्यक्रममा महिलालाई व्यवसाय सञ्चालन, पशुपालन, पोषणको महत्व तथा परिवारको आर्थिक अवस्था सुदृढ बनाउने विषयमा समेत प्रशिक्षण दिइएको थियो।उक्त अनुदान रकमबाट लाभग्राही महिलाले गाई, भैँसी तथा बाख्रापालन लगायतका आयमूलक व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्ने अपेक्षा गरिएको उपमहानगरपालिकाले जनाएको छ। साथै, परिवारको आम्दानी वृद्धि गर्दै गर्भवती महिला, सुत्केरी आमा र दुई वर्षमुनिका बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रवि भास्करका अनुसार अनुदान रकम सिधै लाभग्राही महिलाको बैंक खातामा जम्मा गरिएको छ, जसले रकमको पारदर्शी र प्रभावकारी उपयोग सुनिश्चित गर्नेछ।उनले यो कार्यक्रम विशेषगरी नौ महिनासम्मका गर्भवती महिला देखि बच्चा जन्मिएको दुई वर्ष नपुग्दासम्मका विपन्न महिलालाई लक्षित गरी सञ्चालन गरिएको जानकारी दिए। जीवनको पहिलो एक हजार दिन आमा र शिशुको शारीरिक तथा मानसिक विकासका लागि अत्यन्त महत्वपूर्ण हुने भएकाले यस अवधिमा पोषणसँगै आर्थिक सशक्तीकरणलाई पनि प्राथमिकता दिइएको उनले बताए।कार्यक्रममार्फत महिलालाई केवल आर्थिक सहयोग मात्र नभई सीप, उद्यमशीलता र पोषणसम्बन्धी ज्ञानसमेत प्रदान गरिएको छ।
यसले दीर्घकालीन रूपमा परिवारको खाद्य सुरक्षा, पोषण सुधार र महिला सशक्तीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास उपमहानगरपालिकाको छ।बहुक्षेत्रीय पोषण कार्यक्रमले स्थानीय तहमा पोषणमैत्री वातावरण निर्माण गर्दै कुपोषण न्यूनीकरण, आयआर्जन वृद्धि र विपन्न परिवारको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।




