जीतपुरमा पसलको छानो फोडेर चोरी, १४ वर्षीय किशोर पक्राउ

रञ्जन यादब  /बारा १५ असोज

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ पाडा बजारमा रहेको एक पसलमा चोरी भएको घटनामा प्रहरीले १४ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी बरिष्ठ नायब निरिक्षक उमेश निरौलाको निर्देशनमा खटिएको गस्ती टोलीले गएराति करिब १ः३० बजे शंकास्पद अवस्थामा हिँडिरहेका जीतपुरसिमरा वडा नं.६ का १४ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको हो।

प्रहरी सहायक निरीक्षक विष्णुहरि घिमिरेको कमाण्डमा खटिएको टोलीले पडा बजारस्थित पूर्वतर्फको सर्भिस लेनमा बकुलियाबाट जीतपुर चोकतर्फ जाँदै गरेका अंसारीलाई चेकजाँच गर्दा उनको साथबाट नगद रु.१७ हजार ३ सयसहित विभिन्न सामान फेला परेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उनको साथबाट रु.५०० दरका तीन थान, रु.१०० दरका ९१ थान, रु.५० दरका ९० थान, रु.२० दरका ५९ थान, रु.१० दरका ८२ थान र रु.५ दरका ४४ थान नोट बरामद भएको छ। यस्तै, एक थान पुलास, एक थान रिन्च, मोबाइल चार्जरको टाउको, एक थान ब्लुटुथ र दुई प्याकेट सिन्का समेत फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार जीतपुरका शम्भु साहले सञ्चालन गरेको ‘संगम कोल्ड ड्रिम्स’ पसलमा चोरी भएको थियो।

पसलको जस्ताको छानोमा चढेर करिब ८ फिट लम्बाइ र ३ फिट चौडाइको जस्ता हटाई नगद रु.१७ हजार ३ सयसहित सामान चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । चोरी भएको घटनाको अनुसन्धानका क्रममा शंकास्पद अवस्थामा फेला परेका अंसारीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जीतपुरमा राखिएको छ। प्रहरीले घटनामा उनको संलग्नता तथा बरामद सामानको स्रोतबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।