स्वास्थ्य कार्यक्रम मूल्यांकनमा परवानीपुर गाउँपालिका बारामै पहिलो

बारा १४ असोज

बाराका १६ स्थानीय तहमध्ये आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको समग्र मूल्यांकनमा परवानीपुर गाउँपालिका पहिलो भएको छ।जिल्ला स्वास्थ्य कार्यालय बाराले कलैयास्थित होटल कारण राज पार्टी प्यालेसमा आयोजना गरेको जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीमा सार्वजनिक गरिएको मूल्यांकन नतिजाअनुसार परवानीपुर गाउँपालिकाले ७४ दशमलव ३२ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। मूल्यांकनमा ७३ दशमलव १४ अंकसहित महागढीमाई नगरपालिका दोस्रो र ७३ दशमलव १२ अंक प्राप्त गरेको करैयामाई गाउँपालिका तेस्रो भएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख चेतराज पण्डितका अनुसार स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको प्रगति, स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य संस्थाको कार्यसम्पादन तथा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले तोकेका विभिन्न स्वास्थ्य सूचक र मापदण्डलाई आधार बनाएर मूल्यांकन गरिएको हो।स्वास्थ्य कार्यक्रमको योजना तथा कार्यान्वयनको अवस्था, स्वास्थ्य सेवाको पहुँच र गुणस्तर, लक्षित समुदायमा सेवाको पहुँच, स्वास्थ्य संस्थाको कार्यसम्पादन तथा विभिन्न कार्यक्रमको प्रगति लगायतका पक्षलाई मूल्यांकनमा समेटिएको पण्डितले बताउनुभयो।

स्थानीय तहको मूल्यांकनसँगै स्वास्थ्य चौकीतर्फ निजगढ नगरपालिका वडा नं.११ स्थित रतनपुर स्वास्थ्य चौकी जिल्लामै उत्कृष्ट घोषित भएको छ। निजगढ स्वास्थ्य चौकी दोस्रो र करैयामाई स्वास्थ्य चौकी तेस्रो भएका छन्।उत्कृष्ट स्थान हासिल गर्ने स्थानीय तह तथा स्वास्थ्य संस्थालाई जिल्ला स्वास्थ्य कार्यालय बाराले सम्मान गरेको छ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले स्वास्थ्य क्षेत्रको प्रगति मूल्यांकन गर्दा तथ्यांक र अंकलाई मात्र आधार नबनाई नागरिकले प्राप्त गरिरहेको सेवाको पहुँच तथा गुणस्तरलाई समेत केन्द्रमा राख्नुपर्ने बताउनुभयो। स्थानीय तह, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीबीच प्रभावकारी समन्वय कायम गर्न सके स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारिता अझ बढाउन सकिने उहाँको भनाइ थियो।

वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साह, स्वास्थ्य मन्त्रालयका डा. मुक्तिनारायण साह, स्वास्थ्य निर्देशनालय सपही धनुषाकी निमित्त निर्देशक सुनिता गुप्तालगायत स्वास्थ्य क्षेत्रका कर्मचारी तथा स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता थियो। समीक्षा गोष्ठीमा जिल्लामा गत आर्थिक वर्षमा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका समस्या र आगामी वर्ष सुधार गर्नुपर्ने विषयमा छलफल गरिएको थियो। जिल्ला स्वास्थ्य कार्यालयले समीक्षा कार्यक्रमबाट प्राप्त सुझाव र पहिचान भएका कमजोरीलाई आगामी स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउन उपयोग गरिने जनाएको छ।