रञ्जन यादब /बारा १४ असोज
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, मधेस प्रदेशले मातहतका आठवटै जिल्लाका ट्राफिक प्रमुखसँग आर्थिक वर्ष २०८३÷८४ का लागि वार्षिक कार्यसम्पादन करार सम्झौता गरेको छ ।थलैयास्थित प्रदेश कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख एवं ट्राफिक प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रबहादुर बस्नेत र आठ जिल्लाका ट्राफिक प्रहरी प्रमुखबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।सम्झौताअनुसार ट्राफिक प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सुधार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

शासकीय सुधार, शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा सडकमा हुने ट्राफिक गतिविधिको प्रभावकारी व्यवस्थापनलगायतका विषय सम्झौताका मुख्य आधार रहेका छन्।कार्यक्रममा एसपी बस्नेतले गत आर्थिक वर्षमा तय गरिएका लक्ष्य र हासिल भएको प्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षमा जिम्मेवारीलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए। उनले सम्झौतामा उल्लेखित जिम्मेवारी र प्रतिबद्धतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्दै अनुशासित, जिम्मेवार र उत्तरदायी भएर काम गर्न ट्राफिक प्रमुखहरूलाई आग्रह गर्नुभयो।
कार्यसम्पादन सम्झौताले जिल्लास्तरमा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा प्रहरी सेवाको गुणस्तर सुधारमा थप जिम्मेवारीबोध गराउने अपेक्षा गरिएको छ।सम्झौता कार्यक्रममा मधेस प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता एवं ट्राफिक प्रहरी नायब उपरीक्षक नवराज न्यौपाने, ट्राफिक प्रहरी निरीक्षक रमेश राई तथा आठ जिल्लाका ट्राफिक प्रहरी प्रमुखहरूको सहभागिता थियो।




