रञ्जन यादब /बारा, १० असोज
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी एक महिनाअघि बेपत्ता भएका नेपाली सेनाका जवान सुरजकुमार साहको कुशको शव बनाएर शनिबार अन्तिम संस्कार गरिएको छ।
बाराको सुवर्ण गाउँपालिका–१ सोलकपुर कुम्हटोली निवासी साह नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत थिए। गत भदौ १० गते ड्युटीमा रहेका बेला भोटेकोशी नदीमा आएको बाढीमा परी उनी बेपत्ता भएका थिए।बाढीपछि परिवार, आफन्त तथा सुरक्षाकर्मीले उनको अवस्था पत्ता लगाउन निरन्तर खोजी गरे पनि लामो समयसम्म कुनै जानकारी प्राप्त हुन सकेन। खोजीका क्रममा समेत साहको अवस्थाबारे यकिन हुन नसकेपछि परिवारले धार्मिक परम्पराअनुसार उनको प्रतीकात्मक शवका रूपमा कुशको शव तयार पारी अन्तिम संस्कार गरेको हो।
अन्तिम संस्कारअघि नेपाली सेनाले साहप्रति सैनिक सम्मान अर्पण गर्दै सलामी दिएको थियो। परिवारजन, आफन्त र स्थानीयवासीको उपस्थितिमा टियरी नदी किनारमा उनको दाहसंस्कार गरिएको हो।
छोराको अवस्थाबारे लामो समयसम्म कुनै जानकारी नपाएपछि अन्ततः धार्मिक विधिअनुसार अन्तिम संस्कार गर्नुपरेको परिवारको अवस्था भावुक बनेको थियो। बाढीमा बेपत्ता भएदेखि नै परिवारजनले साहको खोजीका लागि सम्बन्धित निकायसँग निरन्तर पहल गर्दै आएका थिए।
अन्तिम संस्कार कार्यक्रममा सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, नेपाली कांग्रेसका नेता सतेन्द्र यादव, जेन्जी अगुवा अजय यादव, नेपाली सेनाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।




