परवानीपुरमा द्रुत प्रतिकार्यसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

रञ्जन यादब /बारा २६ साउन

परवानीपुर गाउँपालिकाको सभाहलमा स्वास्थ्य आपतकालीन अवस्था तथा महामारीजन्य जोखिमको प्रभावकारी व्यवस्थापन र द्रुत प्रतिकार्यसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।स्वास्थ्य निर्देशनालय सपही, द प्यान्डेमिक फन्ड तथा विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा आयोजित कार्यक्रममा स्थानीय तहमा विपद् तथा महामारीका समयमा अपनाउनुपर्ने तयारी, समन्वय र द्रुत प्रतिकार्यका विषयमा छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता परवानीपुर गाउँपालिकाकी उपाध्यक्ष सुगान्धी देवी कनुइनले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामेश्वर साह कलवारको समेत उपस्थिति रहेको थियो।कार्यशालामा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। स्वास्थ्य आपतकालीन अवस्था उत्पन्न हुँदा तत्काल परिचालन हुने संयन्त्र, सूचना आदान–प्रदान, जोखिम पहिचान, बिरामीको व्यवस्थापन तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका विषयमा सहभागीलाई जानकारी गराइएको थियो।स्थानीय तहमा महामारी तथा अन्य स्वास्थ्यजन्य विपद्को जोखिम न्यूनीकरण गर्न पूर्वतयारीलाई प्रभावकारी बनाउने र आपतकालीन अवस्थामा छिटो तथा समन्वयात्मक रूपमा प्रतिकार्य गर्न सक्षम बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा स्वास्थ्यसम्बन्धी आपतकालीन अवस्थाको सामना गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएकाले उपलब्ध स्रोत–साधनको उचित परिचालन, स्वास्थ्यकर्मीको तयारी र सम्बन्धित सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।