रञ्जन यादब /बारा १९ साउन
जीतपुरसिमरा उपमहानगरपालिकाभित्र सञ्चालित २५ वटै स्वास्थ्य संस्थाबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या हाल १ लाख ७५ हजार ४ सय ३५ पुगेको छ। आधारभूतदेखि विशेषज्ञस्तरसम्मका विभिन्न स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार भएसँगै सेवाग्राहीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको उपमहानगरपालिकाले जनाएको छ। गत आर्थिक बर्ष २०८२।०८३ मा २५ वटै स्वास्थ्य संस्थाबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या हाल १ लाख ७५ हजार ४ सय ३५ पुगेका हुन् ।
उपमहानगरपालिकाअन्तर्गत रहेका नगर स्वास्थ्य अस्पताल , आधारभूत स्वास्थ्य सेवा केन्द्र लगायत अन्य स्वास्थ्य संस्थामार्फत ओपीडी सेवा, खोप, सुरक्षित मातृत्व, बाल स्वास्थ्य, परिवार नियोजन, नसर्ने रोगको परीक्षण तथा उपचार, प्रयोगशाला सेवा, औषधि वितरणलगायतका सेवा नियमित रूपमा प्रदान हुँदै आएका छन्। स्थानीय तहबाट स्वास्थ्य सेवाको पहुँच सहज र प्रभावकारी बनाउन आवश्यक जनशक्ति व्यवस्थापन, औषधि आपूर्ति, स्वास्थ्य पूर्वाधार विस्तार तथा सेवा प्रवाहमा निरन्तर सुधार गरिँदै आएको उपमहानगरपालिकाको भनाइ छ।
उपमहानगरपालिकाले सम्पूर्ण नगरवासीलाई सहज, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। नागरिकको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर अझ प्रभावकारी र प्रविधिमैत्री बनाइने उपमहानगरपालिकाको योजना रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिकामा २४ वटा वडाहरु रहेका छन् ।




