रञ्जन यादब /बारा २० कार्तिक
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा सूर्य नेपाल प्रा.लि.ले निर्माण गरेको इन्टरलक ब्लकसहितको बाटो विद्यालयलाई हस्तान्तरण गरेको छ।तीन महिनाको अवधिमा निर्माण सम्पन्न गरिएको उक्त बाटोको कुल लागत ११ लाख ३१ हजार रुपैयाँ रहेको छ। एक कार्यक्रमबीच सूर्य नेपाल प्रा.लि.का प्रबन्धक सुरेशकाजी श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई हस्तान्तरण पत्र प्रदान गर्दै नवनिर्मित बाटो विद्यालयलाई हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंकर आचार्यले विद्यालय स्थापनाकालदेखि नै सूर्य नेपालले निरन्तर सहयोग गर्दै आएको बताए। उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रको विकास र विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार निर्माणमा पु¥याउँदै आएको योगदान प्रशंसनीय रहेको उनको भनाइ थियो।

सूर्य नेपालको निरन्तर सहयोगले विद्यालयमा प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा प्रदान गर्न सहज भएको प्रधानाध्यापक आचार्यले बताए। उनका अनुसार उद्योगले विद्यालयको प्रशासनिक भवन निर्माण, डिजिटल बोर्ड उपलब्ध गराउने, प्रयोगशालाका लागि आवश्यक सामग्री प्रदान गर्नेलगायतका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। नवनिर्मित इन्टरलक बाटोले विद्यालयको भौतिक संरचनालाई थप व्यवस्थित बनाउनुका साथै विद्यार्थी, शिक्षक तथा विद्यालयमा आउने सेवाग्राहीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा सूर्य नेपाल प्रा.लि.का प्रबन्धक सुरेशकाजी श्रेष्ठले उद्योगले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा सहयोग गर्दै आएको बताए। आगामी दिनमा पनि स्थानीय समुदायको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे।
उद्योग र शैक्षिक संस्थाबीचको सहकार्यले विद्यालयको पूर्वाधार विकासमा टेवा पुग्नुका साथै स्थानीयस्तरमा गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो। वडा नं.२ कावडा अध्यक्ष धन बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा र्पुब शिक्षक अच्युत प्रसाद सिटौँला ,शिक्षक सिता अधिकारी , डम्बर खड्का ,सुर्य नेपालका यज्ञ बहादुर आले र शेषराज अधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक गोपि अधिकारीले गरेका थिए ।




