रञ्जन यादब /बारा, २१ कार्तिक
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ काँटाटोलबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिमराले उनीहरूको साथबाट ७६ हजार ३ सय ९० रुपैयाँ नगदसमेत बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीय गोरी माया तामाङको बाख्रा गोठमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ का ३१ वर्षीय उपेन्द्रप्रसाद साह, ६१ वर्षीय मिनबहादुर थिङ, ३६ वर्षीय कुमार थिङ, ३७ वर्षीय जिम्बु चौधरी, ४९ वर्षीय सितलाल तामाङ र ३० वर्षीय वाङ तामाङ रहेका छन्।त्यसैगरी कलैया उपमहानगरपालिका वडा नं.२१ का ५५ वर्षीय देवचन्द्रप्रसाद चौधरी र ३१ वर्षीय रमेश साह पनि पक्राउ परेका छन्।जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई नगद रकम र ताससहित नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।
पक्राउ परेका आठै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा राखिएको प्रहरीले जनाएको छ।




