विज्ञान शिक्षामा जीतपुरसिमराको लगानीः ११० विद्यार्थीलाई करिब ४० लाख रुपैयाँ छात्रवृत्ति

रञ्जन यादब /बारा १८ साउन

जीतपुरसिमरा उपमहानगरपालिकामा  विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति कार्यक्रम उल्लेखनीय रूपमा विस्तार भएको छ। गत आर्थिक वर्ष २०८२÷८३ मा उपमहानगरपालिकाले माध्यमिक तह (कक्षा ११–१२) मा विज्ञान विषय अध्ययनरत ११० जना विद्यार्थीलाई कुल ३९ लाख ८२ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा लाभग्राही विद्यार्थी संख्या १२४ प्रतिशतले वृद्धि भएको छ ।उपमहानगरपालिकाका अनुसार गुणस्तरीय विज्ञान शिक्षामा पहुँच विस्तार गर्ने, आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षातर्फ प्रोत्साहित गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको हो।

जीतपुरसिमरा उपमहानगरपालिकाको श्री नेपाल राष्ट्रिय विद्यालय, सिमरा र श्री राष्ट्रिय माध्यमिक विद्यालय, बकुलिया गरी दुई वटा सामुदायिक बिद्यालयमा विज्ञान संकायमा  पढाई हुने गर्दछ ।आर्थिक वर्ष २०८२÷८३ मा श्री नेपाल राष्ट्रिय विद्यालय, सिमरा र श्री राष्ट्रिय माध्यमिक विद्यालय, बकुलिया भवानीपुरका विद्यार्थीहरू यस कार्यक्रमबाट लाभान्वित भएका छन्।तथ्यांकअनुसार आर्थिक वर्ष २०८१÷८२ मा यी दुई विद्यालयका ४९ जना विद्यार्थीले कुल १९ लाख ८ सय ५० रुपैयाँ छात्रवृत्ति प्राप्त गरेका थिए। एक वर्षमै लाभग्राही संख्या ४९ बाट ११० पुग्दा वितरण गरिएको रकम पनि दोब्बरभन्दा बढी वृद्धि भएको देखिएको छ।

श्री नेपाल राष्ट्रिय विद्यालय, सिमरामा सबैभन्दा ठूलो वृद्धि भएको छ। आर्थिक वर्ष २०८१÷८२ मा ३४ जना विद्यार्थीले १३ लाख २२ हजार ६ सय रुपैयाँ छात्रवृत्ति पाएका थिए भने आर्थिक वर्ष २०८२÷८३ मा लाभग्राही संख्या बढेर ८८ पुगेको छ। यस अवधिमा ३१ लाख ८५ हजार ६ सय रुपैयाँ छात्रवृत्ति वितरण गरिएको छ। यस विद्यालयमा लाभग्राही विद्यार्थी संख्या १५९ प्रतिशतले वृद्धि भएको उपमहानगरपालिकाको तथ्यांकले देखाएको छ।त्यसैगरी श्री राष्ट्रिय माध्यमिक विद्यालय, बकुलिया भवानीपुरमा आर्थिक वर्ष २०८१÷८२ मा १५ जना विद्यार्थीलाई ५ लाख ७८ हजार २ सय ५० रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो। गत आर्थिक वर्षमा लाभग्राही संख्या बढेर २२ पुगेको छ भने ७ लाख ९६ हजार ४ सय रुपैयाँ छात्रवृत्ति वितरण गरिएको छ।

यस विद्यालयमा लाभग्राही संख्या ४७ प्रतिशतले वृद्धि भएको छ।जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न सञ्चालन गरिएको छात्रवृत्ति कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो। उहाँले यस कार्यक्रमले विज्ञान अध्ययनप्रति विद्यार्थीको आकर्षण बढाउनुका साथै आर्थिक रूपमा कमजोर विद्यार्थीलाई उच्च माध्यमिक तहको अध्ययन सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।नगर प्रमुख पौडेलका अनुसार विज्ञान संकायमा गरिएको लगानीले विद्यार्थीको शैक्षिक यात्रा थप सहज, गुणस्तरीय र उपलब्धिमूलक बनाउन योगदान पुग्नेछ। साथै, भविष्यमा दक्ष जनशक्ति उत्पादनमार्फत स्थानीय तथा राष्ट्रिय विकासमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा उपमहानगरपालिकाले गरेको छ ।