रञ्जन यादव /बारा २० साउन
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियास्थित श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले विद्यालयको आर्थिक तथा प्रशासनिक गतिविधिलाई पारदर्शी, उत्तरदायी र सहभागितामूलक बनाउने उद्देश्यले सामाजिक लेखापरीक्षण तथा सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका अनुसार यो जीतपुरसिमरा उपमहानगरपालिकाभित्र सामुदायिक विद्यालय स्तरमा पहिलो पटक गरिएको सामाजिक लेखापरीक्षण हो।बकुलिया क्याम्पसको सभाकक्षमा लेखापरीक्षण समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयले गत आर्थिक वर्षको आर्थिक विवरण, वार्षिक प्रगति प्रतिवेदन तथा आगामी योजनाहरू सार्वजनिक गरेको हो।

कार्यक्रममा अभिभावक, शिक्षक, जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा सरोकारवालाको सहभागिता रहेको थियो।विद्यालयका प्रधानाध्यापक धन्नजय गौतमले प्रस्तुत गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा विद्यालयको कुल आम्दानी १ करोड २६ लाख २७ हजार ९ सय १२ रुपैयाँ पुगेको छ। उहाँका अनुसार वडा नं. ५ कार्यालयबाट अतिरिक्त कोचिङ कक्षा सञ्चालनका लागि विनियोजन गरिएको ५ लाख रुपैयाँमध्ये २ लाख ७८ हजार ७ सय रुपैयाँ विद्यालयको खातामा प्राप्त भएको छ।त्यसैगरी, छात्राहरूका लागि सेनिटरी प्याड खरिद गर्न स्थानीय सरकारबाट १ लाख ८ हजार ४ रुपैयाँ उपलब्ध गराइएको जानकारी पनि उहाँले दिनुभयो। विद्यालयमा उक्त कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको र त्यसले किशोरी विद्यार्थीहरूको विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव परेको विद्यालयले जनाएको छ।

प्रधानाध्यापक गौतमले लामो समयदेखि रोकिएको नमूना विद्यालय विकास कार्यक्रमको बजेट आर्थिक वर्ष २०८१÷८२ देखि पुनः कार्यान्वयनमा आएको जानकारी दिँदै गत आर्थिक वर्षमा उक्त कार्यक्रमअन्तर्गत १३ लाख ७० हजार रुपैयाँ खर्च गरिएको बताउनुभयो। उहाँले चालु आर्थिक वर्षको अनुमानित आय–व्ययसमेत प्रस्तुत गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गरिने उल्लेख गर्नुभयो।कार्यक्रममा शिक्षक प्रतिनिधि सन्तोषकुमार गुप्ताले विद्यालयमा छात्राहरूका लागि सेनिटरी प्याड वितरण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको र यसले किशोरीहरूको नियमित विद्यालय उपस्थितिमा उल्लेखनीय सुधार ल्याएको बताउनुभयो।
सामाजिक लेखापरीक्षणमार्फत विद्यालयले आफ्ना आर्थिक, प्रशासनिक तथा शैक्षिक गतिविधिलाई सार्वजनिक गर्दै सरोकारवालाबाट सुझाव र प्रतिक्रिया संकलन गरेको छ। सहभागीहरूले विद्यालयले थालेको यो अभ्यासले सार्वजनिक विद्यालयमा पारदर्शिता, सुशासन र उत्तरदायित्व प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।विद्यालयले थालेको यो अभ्यासलाई जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूका लागि उदाहरणीय सुरुवातका रूपमा हेरिएको छ।




