डुमरवानामा खेतको कुलोमा भेटियो ३० वर्षीय पुरुषको शव

रञ्जन यादब /बारा २१ कार्तिक

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ डुमरवानास्थित पुरानो बस्तीमा एक पुरुषको शव फेला परेको छ। शनिबार बिहान स्थानीय ३० वर्षीय वीरेन्द्र माझी खेतको कुलोमा मृत अवस्थामा भेटिएका हुन्। स्थानीयले कुलोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

माझीको शवसँगै घटनास्थलमा साइकल र एउटा झोलासमेत फेला परेको प्रहरीले जनाएको छ।स्थानीयका अनुसार पेसाले ट्याक्टर चालक रहेका माझी शुक्रबार साँझ घरबाट निस्किएका थिए। त्यसपछि उनी शनिबार बिहान खेतको कुलोमा मृत अवस्थामा फेला परेका हुन्।घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी डुमरवाना र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थललाई सुरक्षा घेरामा राखेर आवश्यक अनुसन्धान अघि बढाएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। मृतकको मृत्युको कारण भने खुल्न सकेको छैन।