नेपाली कांग्रेस बाराको जिल्ला नेतृत्वमा राजेश राय यादवले निरन्तरता पाएका छन् । पार्टीको १५औँ जिल्ला अधिवेशनले शेरबहादुर देउवा पक्षका यादवलाई पुनः जिल्ला सभापतिको जिम्मेवारी सुम्पिएको हो ।
कलैया उपमहानगरपालिका–१ स्थित राजजानकी मन्दिर परिसरमा आइतबार आयोजित अधिवेशनले यादवलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको छ । जिल्ला सभापति यादवकै अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वखानेपानी मन्त्री उमाकान्त चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

अधिवेशनमा संविधानसभा सदस्य एवं पूर्वकेन्द्रीय सदस्य राधेचन्द्र यादवसहित जिल्लाका चारवटै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति, पालिकाका जनप्रतिनिधि, नगर सभापति, वडा सभापति तथा पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी नेताहरूले यादवलाई पुनः सभापतिमा चयन भएकामा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । उनीहरूले पार्टी संगठनलाई बलियो बनाउने, आन्तरिक एकता कायम गर्ने र कांग्रेसलाई जिल्लामा थप प्रभावकारी बनाउने जिम्मेवारी यादवको काँधमा आएको धारणा राखेका थिए ।
कार्यक्रममा क्षेत्र नम्बर १ का सभापति सोधीलाल मण्डल, क्षेत्र नम्बर २ का मुस्ताक अन्सारी, क्षेत्र नम्बर ३ की कलावती पासवान र क्षेत्र नम्बर ४ का हरेन्द्रप्रसाद यादव सहभागी थिए । त्यस्तै प्रदेशसभा क्षेत्रीय सभापतिहरू राजेश साह, हरिलाल राय यादव (बाबा), सुरेशप्रसाद साह, हरि प्रवेश यादव, लेखनाथ खनाल र गोपालप्रसाद कुशवाहाको पनि उपस्थिति थियो ।
कलैया उपमहानगरपालिकाका उपमहानगर सभापति दीपेन्द्र कुशवाहा, जीतपुरसिमरा उपमहानगर सभापति निरज गिरी , सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, कोल्हबी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी र उपप्रमुख लक्ष्मी चौधरीलगायतको सहभागिता रहेको अधिवेशनको सञ्चालन सञ्चारकर्मी जयनारायण यादवले गरेका थिए ।
यसैबीच, नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको आन्तरिक विभाजनको प्रभाव जिल्ला तहसम्म परेको छ । विशेष महाधिवेशन पक्षधर गगनकुमार थापा समूह र शेरबहादुर देउवा समूहले आ–आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाइरहेका छन् ।
थापा नेतृत्वको समूहले वडा, नगर र क्षेत्रीय तहको अधिवेशनपछि केन्द्रीय महाधिवेशनसमेत सम्पन्न गरिसकेको छ । देउवा समूहले भने वडा, नगर र प्रदेश तहका अधिवेशन सम्पन्न गर्दै जिल्ला अधिवेशनलाई निरन्तरता दिएको छ ।
सोही प्रक्रियाअन्तर्गत देउवा समूहले बारामा जिल्ला अधिवेशन सम्पन्न गरी यादवलाई पुनः सभापतिमा चयन गरेको हो । तर, गगनकुमार थापा समूहले भने बारामा आफ्नो पक्षको जिल्ला अधिवेशनबारे हालसम्म घोषणा गरेको छैन ।




