रञ्जन यादब /बारा १५ साउन
बाराको सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगहरू सञ्चालन र निर्माणको क्रम तीव्र भए पनि उद्योगलाई आवश्यक पर्ने सेवामूलक पूर्वाधार भने प्रयोगविहीन बनेका छन्। उद्योग लक्षित सेवा प्रवाहका लागि निर्माण गरिएका भवनहरू खाली रहँदा करोडौं रुपैयाँको लगानी जोखिममा परेको छ। सिमरा विशेष आर्थिक क्षेत्र (सेज) को ब्लक ‘ए’ मा उद्योगहरूको संख्या बढ्दै गए पनि ती उद्योगलाई लक्षित गरी निर्माण गरिएका बैंक, भन्सार, बीमा, हुलाक, पोलिक्लिनिक, डे–केयर लगायतका सेवामूलक भवन भने सञ्चालनमा आउन सकेका छैनन्। प्रयोगविहीन रहँदा यी भवनहरू विस्तारै जीर्ण बन्दै गएका छन्।

विशेष क्षेत्र प्राधिकरणले उद्योगलाई आवश्यक पर्ने सेवा एउटै परिसरभित्र उपलब्ध गराउने उद्देश्यले प्रशासनिक भवनसहित सात वटा संरचना करिब ४५ करोड रुपैयाँको लागतमा निर्माण गरेको थियो। तर सम्बन्धित सेवा प्रदायक संस्था तथा निजी क्षेत्रले भवन उपयोगमा चासो नदेखाउँदा अधिकांश संरचना खाली छन्।प्राधिकरणले दुई वर्षअघि नै सेवा सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको थियो। केही बैंक तथा वित्तीय संस्थाले भवन निरीक्षण गरे पनि आफ्ना आवश्यकताभन्दा संरचना ठूलो भएको भन्दै सम्झौता नगरेको सिमरा सेजका फिल्ड प्रमुख अजय चौधरीले बताए।उनका अनुसार त्यसपछि नीति परिवर्तन गर्दै सेजभित्र सञ्चालनमा रहेका तथा निर्माणाधीन उद्योगलाई समेत कार्यालय प्रयोजनका लागि भवन उपलब्ध गराउने निर्णय गरिएको थियो। तर उद्योगहरूले पनि हालसम्म ती भवन प्रयोग गर्न इच्छुकता नदेखाएको उनले जानकारी दिए।

सेज परिसरमा लामो समयदेखि प्रयोगविहीन रहेका भवनका झ्याल–ढोका बिग्रिन थालेका छन् भने वरिपरि झाडी फैलिँदै गएको छ। नियमित उपयोग नहुँदा सरकारी लगानीमा बनेका संरचनाको संरक्षणसमेत चुनौतीपूर्ण बन्दै गएको देखिन्छ।यद्यपि प्रशासनिक भवन भने आगामी साउनको अन्तिम सातादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको विशेष क्षेत्र प्राधिकरणले जनाएको छ ।सिमरा सेजको ब्लक ‘ए’ मा निर्माण हुने २२ उद्योगमध्ये हाल ६ वटा उद्योगले उत्पादन सुरु गरिसकेका छन्। थप १० उद्योग अन्तिम चरणको निर्माणमा छन् भने बाँकी ६ उद्योगले पूर्वाधार निर्माणको तयारी गरिरहेका छन्। उद्योग विस्तारको गति बढिरहे पनि तिनलाई आवश्यक पर्ने सेवामूलक संरचना सञ्चालनमा आउन नसक्दा सेजको अवधारणाअनुसार ‘एकीकृत औद्योगिक सेवा’ भने अझै कार्यान्वयन हुन सकेको छैन।




