रञ्जन यादब /बारा १५ साउन
साम्प्रदायिक सद्भाव, सामाजिक एकता र हिन्दु–मुस्लिम समुदायबीचको भाइचारा सुदृढ बनाउने उद्देश्यले बाराको एक गाउँपालिकामा शुक्रबार ‘यारी’ कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, लेखा अधिकृत मुकेश साह, प्रशासकीय अधिकृत सुनिलकुमार साह तथा अन्य कर्मचारीहरूको उपस्थितिमा गाउँपालिकाको न्यायिक समिति सचिवालयका कर्मचारी जफिर आलम र बतरा स्वास्थ्य चौकी प्रमुख बडेलाल साहबीच प्रतीकात्मक रूपमा मित्रता (यारी) सम्बन्ध गाँसिएको थियो।उक्त कार्यक्रममार्फत हिन्दु–मुस्लिम समुदायबीच आपसी विश्वास, पारस्परिक सम्मान र सामाजिक सद्भाव कायम राख्ने सन्देश प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले पछिल्लो समय देशका विभिन्न स्थानमा भएका दुःखद घटनापछि सामाजिक सद्भाव र आपसी भाइचारालाई थप मजबुत बनाउन सबैले आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। साथै समाजमा शान्ति, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ।





