रञ्जन यादब /बारा २४ असार
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित पथलैया–वीरगन्ज सडकखण्डमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा सिमराका ४० वर्षीय किशोर श्रेष्ठको मृत्यु भएको छ। प्रहरीका अनुसार वीरगन्जबाट सिमरा फर्किरहेका बेला श्रेष्ठले चलाएको मोटरसाइकल बिहान करिब ५ः३० बजे अनियन्त्रित भएर सडक छेउमा रहेको रेलिङमा ठोक्किएको थियो। दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि बिहान ७ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीले उपचारका क्रममा उनको मृत्यु भएको बताए।श्रेष्ठ हाल परिवारसहित जीतपुरसिमरा उपमहानगरपालिका–१ सिमरामा जगदम्बा स्टील्स अगाडि बसोबास गर्दै आएका थिए। उनीहरूको मूल घर भने पर्साको ठोरी गाउँपालिका हो। मृतकका मामा अमृतलाल श्रेष्ठका अनुसार किशोर आफन्तलाई वीरगन्जसम्म पु¥याएर घर फर्कने क्रममा दुर्घटनामा परेका थिए।
यस घटनाले परिवारलाई झन् मर्माहत बनाएको छ। किनभने किशोरले सात दिनअघि मात्रै पुत्रलाभ गरेका थिए। घरमा नवजात शिशुको आगमनले खुसीको वातावरण बनेको अवस्थामा एक सातामै परिवारका मूल सदस्यको असामयिक निधन भएपछि परिवार शोकमा डुबेको छ।श्रेष्ठ सिमराको नेवारी समुदायमा पनि सक्रिय थिए। उनी दुर्गानगर भिमसेन पुचः खलका सदस्यका रूपमा विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिमा संलग्न रहँदै आएका थिए। उनको निधनप्रति सिमरा र ठोरी क्षेत्रका स्थानीयवासी तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।




