रञ्जन यादब /बाारा २१ असार
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२० ले लक्षित वर्गका विभिन्न समुदायलाई सामुदायिक प्रयोजनका लागि भाँडावर्तन उपलब्ध गराएको छ। वडा कार्यालयको पाँच लाख रुपैयाँ बजेटबाट खरिद गरिएका भाँडावर्तन पाँच वटा समुदायलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो।
वडाध्यक्ष रसुल मियाँको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। वितरण गरिएका भाँडावर्तन विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठान, सामाजिक तथा अन्य सामुदायिक कार्यक्रममा प्रयोग गर्न सकिने वडा कार्यालयले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष मियाँले गत आर्थिक वर्षमा एउटा समुदायलाई मात्रै भाँडावर्तन उपलब्ध गराइएको स्मरण गराउँदै यस वर्ष थप पाँच समुदायलाई समेटिएको जानकारी दिनुभयो। अझै सुविधा नपुगेका समुदायलाई आगामी आर्थिक वर्षमा पनि यस्ता कार्यक्रममार्फत समेट्ने योजना रहेको उहाँले बताउनुभयो। साथै, सामुदायिक सम्पत्तिको संरक्षण गर्दै यसको सही सदुपयोग गर्न सबै समुदायलाई आग्रह गर्नुभयो।
प्रमुख अतिथि प्रदेशसभा सदस्य देवनारायण चौधरीले सामुदायिक प्रयोगका सामग्री वितरणले समुदायबीच आपसी सहयोग र सामाजिक सद्भाव बढाउनुका साथै कार्यक्रम सञ्चालनका क्रममा हुने आर्थिक भार कम गर्न सहयोग पुग्ने धारणा राख्नुभयो। स्थानीय तहले सञ्चालन गर्ने यस्ता जनमुखी कार्यक्रमले सामाजिक एकता र सामुदायिक सहभागिता थप मजबुत बन्ने उहाँको विश्वास थियो।
भाँडावर्तन प्राप्त गरेका समुदायका प्रतिनिधिहरूले अब सामाजिक तथा सांस्कृतिक कार्यक्रमका लागि महँगो भाडामा सामग्री लिनुपर्ने बाध्यता हट्ने भन्दै वडा कार्यालयप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले प्राप्त सामग्रीको संरक्षण गर्दै प्रभावकारी रूपमा सामुदायिक हितमा प्रयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी, नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव हरिकिशोर साहले गर्नुभएको थियो।




