रिलायन्स सुगर मिल्सविरुद्ध वातावरण प्रदूषणको उजुरी, स्थानीयद्वारा प्रशासनमा ज्ञापनपत्र

कलैया, बारा — बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थित रिलायन्स सुगर मिल्सबाट निस्किएको फोहोर पानीका कारण बँगरी नदी तथा आसपासको वातावरण प्रदूषित भएको भन्दै स्थानीयवासी र समाजसेवीहरूले जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएका छन्।

स्थानीयका अनुसार उद्योगबाट प्रशोधन नगरी नदीमा मिसाइएको फोहोर पानीका कारण बँगरी नदीको पानीको रङ, गन्ध र गुणस्तरमा उल्लेखनीय परिवर्तन आएको छ। यसबाट नदीमा रहेका जलचर, कृषि उत्पादन, पशुपालन तथा स्थानीय बासिन्दाको स्वास्थ्यमा प्रतिकूल असर परेको उनीहरूको भनाइ छ।

स्थानीय नेता रामचन्द्र प्यासीले उद्योगको लापरबाहीका कारण नदी पटक–पटक प्रदूषित हुने गरेको आरोप लगाउनुभयो। समाजसेवी हिरामती आर्य (कुशवाहा)ले यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि प्रभावकारी अनुगमन र आवश्यक कारबाही हुन नसकेको गुनासो गर्नुभयो।

ज्ञापनपत्रमा उद्योगले वातावरणीय मापदण्ड पालना नगरी फोहोर पानी नदीमा बगाएको, धुवाँ, धुलो र दुर्गन्धका कारण स्थानीय बासिन्दाको स्वास्थ्यमा जोखिम बढेको तथा खेतीपाती र पशुपालनमा दीर्घकालीन असर परेको उल्लेख गरिएको छ।

स्थानीयवासीले प्रदूषणको स्वतन्त्र तथा वैज्ञानिक अध्ययन गर्न, नदी, माटो र हावाको गुणस्तर परीक्षण गर्न, उद्योगको वातावरणीय दायित्वको अनुगमन गर्न, दोषी प्रमाणित भए कानुनी कारबाही गर्न, प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न, पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा उद्योगको फोहोर पानी प्रशोधन प्रणालीको नियमित निगरानी गर्न प्रशासनसँग माग गरेका छन्।

ज्ञापनपत्र बुझ्दै बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईले सोमबार प्राविधिक टोलीसहित रिलायन्स सुगर मिल्सको स्थलगत निरीक्षण गरिने जानकारी दिनुभयो। उहाँले अनुगमनबाट प्राप्त प्रतिवेदनका आधारमा वातावरणीय प्रदूषण नियन्त्रणका लागि आवश्यक निर्देशन तथा थप प्रक्रिया अघि बढाइने बताउनुभयो।

ज्ञापनपत्र बुझाउने टोलीमा समाजसेवी हिरामती आर्य (कुशवाहा), फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी, आत्माराम साह, रामचन्द्र प्यासी, जयप्रकाश दास, सुशील साहलगायत सहभागी थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरीका प्रतिनिधि तथा अन्य सुरक्षा अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

उता, रिलायन्स सुगर मिल्सले स्थानीयवासीले उठाएका आरोपबारे समाचार तयार पार्दासम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।