बाइल चोरीको आरोपमा बालबालिकामाथि कुटपिट गर्ने चार महिला पक्राउ


बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको घटनामा संलग्न चार महिलालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार असार १६ गते बिहान करिब ९ बजे टांगिया बस्तीस्थित सार्वजनिक चौतारामा स्थानीय चार बालबालिकालाई मोबाइल चोरीको आरोप लगाउँदै बरको रुखमा डोरीले बाँधेर कुटपिट गरिएको थियो। घटनापछि बालबालिकामाथि भएको अमानवीय व्यवहारको सूचना प्राप्त हुनासाथ प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

अनुसन्धानका क्रममा संलग्न रहेको आरोपमा जितपुरसिमरा–१६ निवासी ६२ वर्षीया मिना राजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानिमाया मोक्तान र ४२ वर्षीया निर्मला वाईवालाई असार १७ गते नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनाविरुद्ध बालबालिकाविरुद्धको कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेका अनुसार बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिनको म्याद थप गरी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

प्रहरीले कुनै पनि आरोप वा शंकाको आधारमा कानुन हातमा लिएर बालबालिकामाथि हिंसात्मक व्यवहार नगर्न सर्वसाधारणलाई आग्रह गर्दै यस्ता घटना भए तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ।