जीतपुरसिमरा उपमहानगरपालिकामा अव्यवस्थित इन्टरनेट केबल व्यवस्थापन अभियान सुरु

रञ्जन यादब /बारा १७ असार

जीतपुरसिमरा उपमहानगरपालिकाले अव्यवस्थित रूपमा झुन्डिएका इन्टरनेट तथा सञ्चारका केबलहरू व्यवस्थापन गर्ने अभियान सुरु गरेको छ । नगर प्रहरीको नेतृत्व तथा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको समन्वयमा सिमरा एयरपोर्ट रोड क्षेत्रमा अव्यवस्थित रूपमा झुन्डिएका इन्टरनेट तथा सञ्चारका केबलहरू व्यवस्थापन गर्ने अभियान सुरु गरिएको हो ।

बुधबार बिहानैदेखि सुरु गरिएको अभियानअन्तर्गत सडक किनारमा अव्यवस्थित रूपमा जडान गरिएका, प्रयोगविहीन तथा जोखिमयुक्त केबलहरू हटाउने, व्यवस्थित रूपमा बाँध्ने र पोलहरूमा सुरक्षित ढंगले व्यवस्थापन गर्ने काम भइरहेको नगर प्रहरीले जनाएको छ। अव्यवस्थित केबलका कारण सडकको सौन्दर्यमा असर पर्नुका साथै दुर्घटनाको जोखिम बढ्दै गएको, मर्मत तथा सडक विस्तारका कार्यमा समेत समस्या उत्पन्न हुने भएकाले सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँग समन्वय गरी व्यवस्थापन अभियान सञ्चालन गरिएको हो।

उपमहानगरपालिकाले सार्वजनिक सडक, बजार क्षेत्र तथा मुख्य चोकहरूमा रहेका अव्यवस्थित तार र केबललाई चरणबद्ध रूपमा व्यवस्थापन गर्दै लैजाने जनाएको छ। यस अभियानबाट सडक क्षेत्र थप सुरक्षित, सफा र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ। नगरपालिकाले सम्पूर्ण इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई तोकिएको मापदण्डअनुसार केबल जडान गर्न तथा प्रयोगविहीन तार तत्काल हटाउन अनुरोध गरेको छ। साथै सार्वजनिक पूर्वाधारको संरक्षण र व्यवस्थित सहरी वातावरण निर्माणका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ।