बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्र हुँदै जाने राजमार्ग तथा त्यससँग जोडिएका सडकहरू पछिल्लो समय सवारी दुर्घटनाका दृष्टिले अत्यन्त जोखिमपूर्ण बन्दै गएका छन्। पछिल्लो एक साताभित्र मात्रै भएका दुई छुट्टाछुट्टै दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् भने अन्य दुई जना घाइते भएका छन्।
सोमबार दिउँसो सिमरा विमानस्थल नजिक डुमरवाना–सिमरा भित्री सडकखण्डमा भएको दुर्घटनामा एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटरले अगाडि गुडिरहेको प्र.२–०३–००१ त ३७७३ नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आइरहेको म.प्र.०३–०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो। ठक्करपछि स्कुटर ट्र्याक्टरमुनि पसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक पर्साको वीरगञ्ज महानगरपालिका–२९ निवासी १७ वर्षीय लक्की सराफ गम्भीर घाइते भएका थिए। सिमरास्थित सीटी स्टार अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई परवानीपुरस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा साँझ चिकित्सकले मृत घोषणा गरेका हुन्।
स्कुटरमा पछाडि सवार १७ वर्षीय दिलसाद देवान सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने मोटरसाइकल चालक जीतपुरसिमरा–२३ निवासी २९ वर्षीय रइफुल आलम अन्सारी घाइते भई थप उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्र्याक्टर र दुवै दुईपांग्रे सवारीलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ। ट्र्याक्टर चालक जीतपुरसिमरा–४ औराहाका ७० वर्षीय शिवराज चौधरीलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
यसअघि असार ८ गते जीतपुरसिमरा–९ छातापिप्रास्थित वीरगञ्ज–पथलैया सडकखण्डमा भएको अर्को दुर्घटनामा तीन जनाको ज्यान गएको थियो।
जितपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ६८ प ७४९१ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका करिब ३५ वर्षीय एक पुरुषलाई ठक्कर दिएको थियो। दुर्घटनामा पैदलयात्रीसहित मोटरसाइकलमा सवार दुई युवक गम्भीर घाइते भएका थिए।
घाइतेहरूलाई तत्काल नारायणी अस्पताल तथा व्योधा अस्पताल वीरगञ्ज पुर्याइए पनि उपचारकै क्रममा तीनै जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा काठमाडौं टोखा निवासी २० वर्षीय डिजेन जोशी, जीतपुरसिमरा–१ पथलैया निवासी २० वर्षीय सभ्य अधिकारी तथा परिचय नखुलेका करिब ३५ वर्षीय पैदलयात्री रहेका छन्। दुवै दुर्घटनापछि सम्बन्धित सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार पछिल्ला दिनमा विशेषगरी पूर्व–पश्चिम राजमार्ग र त्यससँग जोडिएका भित्री सडकमा तीव्र गति, असावधानीपूर्वक ओभरटेक, ट्राफिक नियमको बेवास्ता तथा पैदलयात्रीको लापरबाहीका कारण दुर्घटना बढ्दै गएको छ। उनले चालकलाई गति नियन्त्रणमा राख्न, सुरक्षित रूपमा ओभरटेक गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेका छन्।
स्थानीयवासीले पनि जीतपुरसिमरा क्षेत्रमा बढ्दो दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै राजमार्गमा प्रभावकारी ट्राफिक व्यवस्थापन, गति नियन्त्रण, पैदल यात्रुका लागि सुरक्षित क्रसिङ तथा निगरानी बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।




