जीतपुरमा गाँजासहित दुई जना पक्राउ, बिक्रीका लागि पुरिया बनाएर राखिएको लागुऔषध बरामद

रञ्जन यादब /बारा १५ असार

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जीतपुरबाट प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई सोमबार नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै दुई स्थानमा सञ्चालनमा रहेका पसलमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा खटिएको टोलीले जीतपुर बजारस्थित लकिचन साहको पसलमा खानतलासी गर्दा बिक्रीका लागि स–साना पुरिया बनाएर राखिएको ५९ वटा पुरियामा करिब ३६० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ। सो समयमा पसलमा उपस्थित रहेकी लकिचन साहकी ५० वर्षीया श्रीमती बच्ची साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।त्यसैगरी प्रहरीले जीतपुरमै रहेको सिधरीया टोलको पसलमा गरेको खानतलासीका क्रममा ६८ वर्षीय सेख महमदलाई पनि पक्राउ गरेको छ। उनको पसलबाट बिक्रीका लागि तयारी अवस्थामा राखिएको आठ पुरिया गाँजा बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय सिमरा पठाइएको प्रहरी नायब निरीक्षक निरौलाले जानकारी दिए।प्रहरीका अनुसार पछिल्लो समय बजार क्षेत्रमा प्रतिबन्धित लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्न नियमित निगरानी र विशेष अभियान सञ्चालन भइरहेको छ। अवैध लागुऔषधको कारोबार तथा ओसारपसारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने भन्दै प्रहरीले यस्ता गतिविधिबारे सूचना भए तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।